काठमाण्डौँ, कात्तिक १४ :

अखिल नेपाल फुटबल संघ एन्फाले साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेल हेर्न जाँदा केही सामाग्रीहरुमाथि  रंगशाला  भित्र लैजान निषेध गरिएको  छ ।  

खेल मैदानमा उपस्थित दर्शकहरुको सुरक्षा र व्यवस्थित वातावरणलाई मध्यनजर गर्दै हातहतियार,धुम्रपान र आगो बाल्ने सामग्री,मादक पदार्थ,हेल्मेट,बोतल लगायत समाग्रीहरु लान नपाईने एन्फाले आज सूचना जारी गर्दै जनाएको छ ।  


रंगशालामा  प्रवेश गर्दा  बन्दुक,छुरा र अन्य कुनै पनि प्रकारका धारिला,हातहतियार,चुरोट,लाइटर,सलाइ,मदिरा र अन्य नशालु पदार्थहरू,हेल्मेट,अनुमति बिना ब्यानर, झण्डा,पोस्टर,पानीको बोतल, क्यान, पत्थर, र अन्य फ्याँक्न मिल्ने सामाग्री, लिबिस्टिक ,नेल कटर,कैँची,काइयो जस्ता  सामग्रीहरू लान पाईनेछैन ।  

साना ब्यागहरू जाँचपछि मात्र अनुमति दिइने  तर ठूला ब्यागहरू भने रंगशालाभित्र लान निषेध गरिएको छ।

सबै दर्शकहरूलाई सुरक्षित र शान्तिपूर्ण वातावरणमा खेलको आनन्द उठाउन र  नियमहरूको पालना गरी खेलकूदप्रति सम्मान जनाउन समेत एन्फाले अनुरोध गरेको छ । 

नेपाल र भारतबीच भएको सेमिफाईल खेलमा दर्शकहरु आक्रोशित भएर प्याराफिटबाट बोतल फालेपछि एन्फाले फाईनल खेलमा थप सतर्कता अपनाएको हो ।