
प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनिसपमा उपविजेता बनेको नेपाली टोलीलाई सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज राष्ट्रिय टोलीका महिला फुुटबल खेलाडीसँगको भेटघाटका क्रममा उहाँले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याई नगर्ने स्पष्ट गर्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने जानकारी गराउनुभएको हो ।
उक्त खेलमा दोस्रो भएको नेपाली टोलीका खेलाडीले जनही तीन लाखका दरले पुरस्कार पाउनेछन् ।
विगतका कतिपय खेलका पुरस्कार अझै प्राप्त नभएको गुनासो आइरहेका बेला प्रधानमन्त्री ओलीको निर्देशनमा पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक पाउने खेलाडीलाई सक्दो छिटो पुरस्कार दिन थालिएको छ र पुरस्कारमा कर लाग्ने व्यवस्था हटाइएको छ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पङ्कजविक्रम नेम्वाङ लगायत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली टोलीको बङ्गलादेशविरुद्धको प्रदर्शन उत्कृष्ट भए पनि प्राविधिक कारणवश दोस्रो हुनुपरेको उल्लेख गर्दै आगामी सातौँ संस्करणमा हामी जित्छौँ भन्ने मर्मका साथ लाग्न आग्रह गर्नुभयो ।
“विजेता भइएन भन्दैमा दुःख नमानौँ । तेञ्जिङ नोर्गे पनि एकै पटकमा नभई आठौँ पटकमा सर्वोच्च शिखर सगरमाथा पुग्न सफल भएका थिए । आगामी यस्ता खेलमा हामीले जित्ने प्रयासलाई अघि बढाउनुपर्छ ।’’
प्रधानमन्त्री ओलीले ५० हजारसम्म दर्शक अट्ने रङ्गशाला निर्माणका लागि सरकारले उचित स्थानमा जग्गा खोजिरहेको पनि जानकारी गराउनुभयो ।