काठमाडौँ, साउन २२ :

सर्वोच्च अदालतले आर्थिक वर्ष २०८०/८१ मा १५ हजार चार सय ८४ मुद्दा फर्स्योट  गरेको छ । विगत पाँच वर्षका तुलनामा यो सङ्ख्या सबैभन्दा धेरै रहेको अदालतले जनाएको छ । । 

सो आवमा सर्वोच्चमा ४० हजार नौ सय ९२ मुद्दा  भएकामा २५ हजार चार सय २५ मुद्दा फर्स्योट गर्न बाँकी छ । आव २०७९/८० मा ३० दशमलव १७ प्रतिशत, आव २०७८/७९ मा १९ दशमलव एक प्रतिशत, आव २०७७/७८ मा १५ दशमलव ८२ प्रतिशत र आव २०७६/७७ मा ३० दशमलव ५१ प्रतिशत मुद्दा फर्स्योट भएको थियो ।

सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेलले सर्वोच्च अदालतमा मुद्दाको  फर्स्योट सुधारोन्मुख रहको र सबै मुद्दालाई उत्तिकै प्राथमिकता दिएर छिटो सुनुवाइ गर्ने योजनाका साथ काम गरिरहेको जानकारी दिनुभयो।

आव २०८०/८१ मा दुई वर्ष नाघेका मुद्दा पनि सर्वोच्चले सबैभन्दा धेरै फर्स्योट गरेको छ । विगत पाँच वर्षको तुलना गर्दा उक्त आबमा दुई वर्ष नाघेका सबैभन्दा बढी मुद्दा आठ हजार एक सय २२ (४० दशमलव ३२) प्रतिशत मुद्दा फर्स्योट गरेको छ । दुई वर्ष नाघेका मुद्दा २० हजार एक सय ४२ रहेकामा १२ हजार २० मुद्दा  फर्स्योट गर्न बाँकी रहेको छ । 

सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले अदालतमा पर्याप्त मात्रामा जनशक्ति हुँदा मुद्दा फर्स्योट गर्न सहज हुने गरेको बताउनुभयो ।

सर्वोच्चमा पाँच वर्ष नाघेका मुद्दा जम्मा तीन हजार दुई सय ४२ बाँकी छ । आव २०८०/८१ मा चार हजार पाँच सय ६५ (५८ दशमलव ४७) रहेको छ । थुनुवा मुद्दामा एक हजार सात सय ४८ बाँकी रहेको पनि उहाले बताउनुभयो ।

सर्वोच्चले मुद्दा व्यवस्थापनमा पाँच वर्ष नाघेका मुद्दाको सुनुवाइका लागि छुट्टै इजलासको व्यवस्था गर्ने, सर्वोच्चमा ५० प्रतिशत कैद भुक्तान गरेका थुनुवा मुद्दाको छुट्टै इजलासको व्यवस्था गर्ने नीतिगत व्यवस्था गरेको छ ।