काठमाडौँ, साउन २२ :

प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने छ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्रीको नियुक्ति तथा कार्यभार सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । 

सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाऊ आदेश सदन समक्ष पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

हिजो आइतबार सार्वजनिक बिदा परेकाले प्रतिनिधिसभाको बैठक आजका लागि सारिएको थियो ।