
अखिल नेपाल फुटबल संघ(एन्फा)ले एकलौटी निर्णय गरेको भन्दै १० वटा बि डिभिजन लिग खेल्ने क्लबले लिग नखेल्ने निर्णय गरेको छ । सहिद स्मारक बि डिभिजन लिगको मिति सार्वजनिक गरेको ४ दिनपछि एक विज्ञप्ति निकाल्दै ती क्लबहरुले सो आरोप लगाएका हुन्।
लिग खेल्ने १४ क्लबमध्ये १० वटा क्लबले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।३ वर्षअघिको बि लिगको बक्यौता रकम नपाएसम्म लिग नखेल्ने भन्दै ती क्लबहरुले सामूहिक रुपमा प्रेस विज्ञप्ति जारी गरेका छन्।
बी डिभिजन लिग पछिल्लो पटक ३ वर्ष अघि भएको र त्यति बेला चर्च ब्वाइज युनाइटेडले बि डिभिजन लिग जितेको थियो।
डेढ वर्षअघि चर्च ब्वाइज ए डिभिजन लिग च्याम्पियन बनेको थियो । त्यति बेलाको तयारी खर्चको बाँकी रकम अहिले सम्म पाउन नसकेमा १० क्लबले असन्तुष्टि जनाएका हुन् ।
बक्यौता रकम माग गर्ने क्लबहरुमा मध्यपुर युथ एसोसियसन, सरस्वती युवा क्लब,अन्नपूर्ण क्लब आरसिटी, नयाँबस्ती युथ क्लब, विरगंज युनाइटेड क्लब,बिग्रेड ब्वाइज क्लब, टुसार युथ क्लब, च्यासल युथ क्लब, ब्वाइज युनियन क्लब र झापा फुटबल क्लब छन् ।
मंसिर ६ गते बसेको एन्फा र क्लबका पदाधिकारीको बैठकले माघ १३ गतेबाट बि डिभिजन लिग सुरु हुने निर्णय गरेको भन्दै एन्फाले क्लब दर्ताको मिति समेत तय गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको थियो।
पुस १३ गते बि डिभिजन लिगको खेल तालिका सार्वजनिक हुनेछ भने लिग माघ १३ गते सुरु हुने बताइएको थियो।
बि डिभिजनका केहि खेल दशरथ रंगशाला र बाँकी खेल एन्फा कम्प्लेक्समा हुने एन्फाले जनाएको छ।