
Photo: CAN
दृष्टिविहीन टी- २० विश्वकप क्रिकेट अन्तर्गत नेपालले आज सेमिफाइनलमा घरेलु टोली पाकिस्तानसँग खेल्दै छ ।
पाकिस्तानमा जारी दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगिताको चौथो संस्करणमा नेपाल चौथो स्थानमा रहँदै पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको हो ।
यसअघि पाकिस्तानले लिग चरणको खेलमा नेपाललाई १० विकेटले पराजित गरेको थियो । लिग चरणमा श्रीलङ्का, बङ्गलादेश र पाकिस्तानसँग पराजित भएको नेपालले दक्षिण अफ्रिका र अफगानिस्तानलाई पराजित गरेको थियो ।
नेपाल अफगानिस्तानसँग एक सय आठ रनले तथा दक्षिण अफ्रिकासँग ११ रनले विजयी भएको थियो भने श्रीलङ्कासँग ७० रनले, बङ्गलादेशसँग ६७ रनले तथा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो ।
पाकिस्तानमा जारी दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपालसँगै बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, दक्षिण अफ्रिका र अफगानिस्तान सहभागी छन् ।
दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपाल सन् २०१२ देखि सहभागी हुँदै आएको छ । यसअघि सम्पन्न तीनवटै संस्करणमा नेपाल सेमिफाइनलमा पुग्न सकेको थिएन ।
दोस्रो सेमिफाइनल खेल आइतबार नै बङ्गलादेश र श्रीलङ्काबीच हुनेछ । फाइनल खेल भने मङ्गलबार हुनेछ ।