काठमाण्डौँ , मंसिर १९ :

युएईमा जारी यु- १९ एसिया कप क्रिकेटमा प्रतियोगिता अन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले टस हारेको छ ।

दुबईको सारजाह क्रिकेट रङ्गशालामा भएको टसमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ रोजेको छ । योसँगै नेपालले पहिला बलिङ गर्नेछ ।  

प्रतियोगिताबाट बाहिरिसकेका दुवै टोली पहिलो जितको खोजीमा छन् । नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रन र दोस्रो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो । 

अफगानिस्तान पहिलो खेलमा बङ्गलादेशसँग ४५ रन र दोस्रो खेलमा श्रीलङ्कासँग १३१ रनले पराजित भएको थियो । 

एसिसीको आयोजनामा जारी प्रतियोगितामा एसियाका आठ देश सहभागी छन् । प्रतियोगितामा एसियाका पाँच टेस्ट राष्ट्र स्वत छनोट भएका थिए । नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष तीनमा रहेर छनोट भएका थिए । 

समूह ‘बी’ मा नेपाल, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र युएई छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।