पाँचथर, पुस १७ :

फिदिममा सम्पन्न एघारौँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बन्दै चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँका फरवार्ड समीर तामाङले विद्युतीय स्कुटर प्राप्त गर्नुभएको छ । 
    
सोमबार सम्पन्न प्रतियोगिताको फाइनल खेलको टाइब्रेकरमा चिर प्रतिद्वन्द्वी मछिन्द्रमाथि चर्च ब्वाइजले विजय हासिल गरेको हो । फाइनल खेलको पाँच मिनेट अतिरिक्त समयमा गोल गरेर खेललाई बराबरीमा ल्याउँदै उपाधि यात्रा तय गरेका तामाङले विद्युतीय स्कुटर प्राप्त गर्नुभएको हो । 
    
खेलमा थप गरिएको पाँच मिनेट अतिरिक्त समयमा समीर तामाङले गोल गर्दै चर्च ब्वाइजलाई हारबाट जोगाउनु भएको थियो । प्रतियोगितामा कूल पाँच गोल गरेर सर्वाधिक गोलकर्ता बन्नुभएका तामाङले विद्युतीय स्कुटर र सर्वाधिक गोलकर्ताका रूपमा १५ हजार पुरस्कार प्राप्त गर्नुभयो । 

प्रतियोगितामा उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका कृशल मोक्तान, उत्कृष्ट रक्षक मछिन्द्रका देवेन्द्र तामाङ, उत्कृष्ट मिडफिल्डर चर्च ब्वाइजका दिपेश गुरुङ, उत्कृष्ट फरवार्ड मछिन्द्रका बिजु भुजेल, उत्कृष्ट प्रशिक्षक चर्च ब्वाइजका सुमन श्रेष्ठ र प्रतियोगिताको उदयमान खेलाडी आयोजक फिदिम स्पोर्टिङ क्लबका मनिष क्षेत्री घोषित हुँदै १० हजारका दरले पुरस्कार प्राप्त गर्नुभयो । फाइनल खेलको उत्कृष्ट खेलाडी चर्च ब्वाइजका शनिष श्रेष्ठ घोषित हुनुभयो । 

प्रतियोगिताको विजेता टोली चर्च ब्वाइजले रु १० लाख तथा उपविजेता टोलीले पाँच लाख पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । फिदिम नगरपालिका मुख्य प्रवर्द्धक रहेको फाल्गुनन्द गोल्डकप छ वर्षपछि पुनः सञ्चालनमा आएको हो ।