
चलचित्र ‘कार्साङ’ को ट्रेलर दर्शकले रुचाएका छन् । ट्रेलरले दर्शकबाट लोभलाग्दो माया पाइरहेको छ ।
‘कार्साङ’को ट्रेलर राम्रो भन्दै सिनेमाले पनि त्यस्तै सफलता पाउने प्रतिक्रिया आइरहेको छ ।
दयाहाङ राई र जितु नेपालको अभिनयको तारिफ गर्दै दर्शकले अब शेर्पा समुदायको कथा दर्शकले नजिकबाट नियाल्न पाउने जनाइरहेका छन् ।
चलचित्र ‘कार्साङ’ को ट्रेलरमा पात्रको अभाव, झाँक्री विद्यामा समाजले गर्ने विश्वास, सामाजिक परम्परा, आर्थिक कारोबार, प्रशासन, समाजले गर्ने बहिष्कार, रिस, द्वेष र समाजको निर्णयले परिवारमा देखिने विचलन र फाटो देखाउँदै ट्रेलरले चलचित्रको मुख्य पात्रले स्वाभिमानका लागि गर्ने संघर्ष र सम्झौता देखाएको छ ।
अन्धविश्वास, परिवारको माया, अरुको चियोचर्चो गर्ने समाजले परिवारमा पुर्याएको बेमेल र छिन्नभिन्न परिवारको कथा ट्रेलरमा देख्न सकिन्छ ।
पुस २६ गते रिलिज हुने चलचित्र ‘कार्साङ’ यम शेर्पाको डेब्यु निर्देशन हो । ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित रहेको निर्देशक शेर्पाले बताएका छन् । ‘यही तहको माया हामीले सिनेमा हलमा दर्शकबाट पनि अपेक्षा गरेका छौँ,’ निर्देशक शेर्पाले भने, ‘दर्शकले देखाउनुभएको यो माया र अपेक्षा पूरा हुनेगरी हामीले चलचित्र बनाएका छौं ।’
‘कार्साङ’मा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय छ ।