.jpg)
खानीमा फसेका मजदुरको उद्धार गरिँदै । तस्बिर : बीबीसी
असमको दिमा हासाओ जिल्लाको उमराङ्शु क्षेत्रमा रहेको कोइला खानीमा एक नेपालीसहित नौ मजदुर फसेका (थुनिएका) छन् ।
उद्धार कार्यको जानकारी दिँदै असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले नौसेनाका गोताखोरहरूलाई सहयोगका लागि बोलाइएको जनाएका छन् ।
असम सरकारले खानीमा फसेका मजदुरहरूको नामसूची जारी गरेको छ । यी मजदुरमध्ये एकजना नेपाली रहेको बीबीसी हिन्दीले समाचारमा उल्लेख गरेको छ ।
घटनास्थलमा खटिएको टोलीका अनुसार खानीभित्र करिब एक सय फिटले पानीको बहाव बढेको छ । विशाखापट्टनमबाट गोताखोर बोलाइएको छ । उनीहरू चाँडै त्यहाँ पुगेर उद्धारमा खटिने भारतीय सञ्चारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन् ।
सोमबार बिहान ८ बजेतिर कोइला निकाल्न केही मजदुर खानीभित्र गएका थिए । सोही क्रममा कोइलाखानीमा कामदार फसेको घटना बाहिरिएको हो ।
घटनास्थलनजिकै रहेका एक घाइते मजदुरका आफन्तले खानीमा बिहानैदेखि केही मजदुर फसेको जनाएका छन् ।
खानीमा एक्कासि पानी भरिएर यस्तो घटना भएको हो । वास्तवमा यो घटना भएको कोइला खानी करिब ३ सय फिट गहिरो रहेको जनाइएको छ । -बीबीसी
हेर्नुहोस् थप तस्बिर :