काठमाडौं, माघ २ :

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले लोकतन्त्रको विगुल फुकेका सार्वजनिक सेवा प्रशारण संस्थाहरु सत्ता र व्यक्ति विशेषको चाकडी गर्ने संस्थाका रुपमा विकास भएको बताएका छन् ।

सार्वजनिक सेवा प्रसारण (पीएसबी) को पूर्वारम्भ कार्यक्रममा मंगलबार मन्त्री गुरुङले कानुनी जटिलताका कारण संस्थाको सिद्धान्तअनुसार चलाउन नसक्दा सत्ता र निश्चित व्यक्तिको चाकडी गर्ने संस्थाको रुपमा विकास भएको बताएका हुन् ।

उनले रेडियो नेपालले लगातार ३० वर्षसम्म तत्कालीन पञ्चायतको ताबेदारी गरेको आरोप लगाए । जनतामाझ सही सूचना सम्प्रेषण गर्न नसक्दा रेडियो नेपालमाथि मिथ्या सूचना सम्प्रेषण गर्ने गरेको आरोप लाग्दै आएको मन्त्री गुरुङले बताए । उनले रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रसारण सुधार गर्न विभिन्न कालखण्डमा सुझाव समिति तथा कार्यदल बने पनि संविधान निर्माण, भारतको नाकाबन्दी र भूकम्पको सामना गर्नुपर्दा ती सुझावहरु कार्यान्वयन गर्न नसकिएको बताए । 

उनले केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पीएसबी पास भई कार्यान्वयनमा आएको उल्लेख गर्दै अब सार्वजनिक सेवा प्रसारण संस्थाहरु सुधारको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरे । उनले सार्वजनिक सेवा प्रसारण संस्थाहरुले उत्कृष्टतामा विश्वास गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । मन्त्री गुरुङले सार्वजनिक सेवा प्रशारण संस्थाहरुले विश्वभरि सूचना प्रदान गर्न नसकेपनि नेपालभर समाचार सेवा दिन सक्नुपर्ने बताए । नेपालका प्रत्येक भूगोलमा समाचार सेवा पुर्‍याउन सकेको ठुलो उपलब्धि मान्नुपर्ने उनको भनाइ छ ।

‘लोकतन्त्रको विगुल फुक्ने काम सार्वजनिक प्रसारण संस्थाहरुले गरेको हो उनले भने, ‘तर पछिल्लो समय सार्वजनिक सेवा प्रसारण संस्थाहरु यसको सिद्धान्त मुताबिक चलाउन नसक्दा सत्ता र निश्चित व्यक्तिको चाकडी गर्ने संस्थाका रुपमा डेभलप भयो । त्यत्रो राम्रो काम गरको रेडियो नेपालपछि ३० वर्ष पञ्चायतको ताबेदारी गर्ने, पञ्चहरुको चाकडी गर्ने संस्थाका रुपमा विकास भयो,’ उनले भने, ‘त्यसकारण उत्कृष्टतामा विश्वास गर्ने संस्थाको रुपमा सार्वजनिक सेवा प्रसारण संस्था नेपाल विकास गर्न लाग्नुपर्छ । त्यो भूमिका पक्कै पनि अहिलेको सार्वजनिक प्रसारण संस्था नेपालले चाहिँ पूरा गर्नेछ भन्ने विश्वास मैले गरेको छु । हाम्रो प्रसारण सेवा विश्वभर पुग्न नसक्ला तर हाम्रो भूगोलको सबै ठाउँमा पुग्नुपर्‍यो । त्यति मात्र गर्न सकियो भने पनि महान उपलब्धि हुन्छ भन्ने लाग्छ ।’

नेपालभित्रका सम्पूर्ण घरहरुभित्र नेपाल टेलिभिजन हेरिने र रेडियो नेपाल सुनिने गरी विकास गर्नुपर्ने उनको भनाइ छ । उनले सार्वजनिक प्रसारण संस्थाको सिद्धान्तअनुसार अघि बढ्दै नेपाली विशेषताका आधारमा कार्यान्वयन गर्न निर्देशन दिए ।