.jpg)
एलिट क्यापिटल लिमिटेडले स्वास्थ्यकर्मीलाई सेयर बजारमा लगानी गर्न सघाउने उद्देश्यले ‘डक्टर्स पीएमएस’ सेवा सञ्चालनमा ल्याएको छ ।
नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त मर्चेन्ट बैंकर एलिट क्यापिटलले आफ्नो ‘लगानी व्यवस्थापन सेवा’ अन्तर्गत यो विशेष योजना ल्याएको हो । क्यापिटलका चिफ बिजनेस अफिसर ओमकारमणि आचार्यका अनुसार न्यूनतम ५ लाख रुपैयाँ वा सो बराबरको सेयर भएपछि सो योजनामा सहभागी हुन सकिन्छ ।
यसमा वार्षिक सेवा शुल्क पूर्ण रुपमा मिनाहा गरिएको छ भने लगानीमा भएको मुनाफामा लगानीकर्तालाई ९० प्रतिशत र एलिट क्यापिटललाई १० प्रतिशत भागबन्डा हुने गरी बाँडफाँट गरिनेछ । साथै मुनाफा भएको रकम त्रैमासिक रुपमा चाहेको बेला झिक्न सकिने र यसमा ५ लाखभन्दा माथि जतिसुकै लगानी गर्न सकिनेसमेत जनाइएको छ ।
यो योजनामा सहभागी हुने स्वास्थ्यकर्मीका परिवारलाई नि:शुल्क डिम्याट खाता तथा मेरो सेयर सेवाको सुविधासमेत प्रदान गरिने जनाइएको छ । साथै यस लगानी योजनामा सहभागी हुने लगानीकर्तालाई नि:शुल्क बिमा सुविधासमेत प्रदान गरिने कम्पनीले जनाएको छ ।
यसका साथै सेयर बजारसम्बन्धी नि:शुल्क तालिम र अन्य परामर्श सेवाहरुसमेत नि:शुल्क प्रदान गरिने कम्पनीले जनाएको छ । चिकित्सकलगायत सम्पूर्ण स्वास्थ्य संस्थामा आबद्ध व्यक्तिहरुका लागि यो योजना लागु हुने क्यापिटलले जनाएको छ ।