काठमाडौँ, माघ १० :

मलेसियामा जारी आईसीसी १९ वर्षमुनिको महिला टी- २० विश्वकप क्रिकेटमा नेपालले आज अस्ट्रेलियासँग खेल्दैछ । 

नेपाल र अस्ट्रेलियाबीचको यो खेल मलेसियाको यूकेएम क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेदेखि शुरु हुनेछ ।

नेपाल आफ्नो पहिलो खेलमा बङ्गलादेशसँग ५ विकेट र दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो ।

१६ वटा टोली सहभागी रहेको १९ वर्षमुनिको महिला विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । यो समूहमा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्याण्ड छन् ।

यसअघि दुई खेलमा पराजित नेपाल सुपर सिक्समा पुग्न आजको तेस्रो खेलमा जितको लक्ष्यसहित मैदान उत्रँदै छ । 

समूह ‘डी’ मा अस्ट्रेलियाको ४ तथा बङ्गलादेश र स्कटल्यान्डको समान २- २ अङ्क छ । नेपाल अङ्कविहीन छ ।