
उत्तर-पश्चिमी टर्कीको प्रसिद्ध एक स्की रिसोर्टमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।
टर्कीको गृह मन्त्रालयका अनुसार आगलागी मृत्यु भएका सबैको पहिचान अझै खुल्न बाँकी छ ।
टर्कीका स्वास्थ्यमन्त्री कमल मेमिसोग्लुले दुर्घटनामा ५१ जना घाइते भएको जनाएका छन् । घाइतेमध्ये एकजना आईसीयूमा उपचाररत छन् । यसबाहेक १७ जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
यो आगो नियन्त्रणमा लिन १२ घण्टा लागेको बीबीसीले समाचारमा जनाएको छ ।
टर्कीका कानुनमन्त्रीले यस घटनामा ९ जनालाई पक्राउ गरिएको बताएका छन् । पक्राउ पर्नेहरूमा रिसोर्टका मालिकसमेत छन् ।
आगो कहिले सुरु भयो ?
बोलुको १२ तले ग्रान्ड कार्टल होटेलमा मंगलबार स्थानीय समयअनुसार बिहान ३:२७ बजे आगलागी भएको थियो । होटेलमा २३४ जना बसिरहेका थिए ।
बोलु टर्कीको राजधानी अंकाराबाट १७० किलोमिटर उत्तर-पश्चिममा अवस्थित छ ।
स्थानीय रिपोर्टका अनुसार तापक्रम अत्यन्तै कम भएकाले दमकललाई त्यहाँ पुग्न एक घण्टाभन्दा बढी समय लाग्यो ।
आगलागीको कारण खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान थालिएको अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।