माघ ११ :

विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिने सहिदहरुको सम्झनामा आजबाट सहिद सप्ताह सुरु भएको छ ।

शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि टेकुको पचलीमा माघ १० गते आफ्नो जीवन बलिदान दिएका थिए । सोही दिनको स्मरण गर्दै आजबाट उनको टेकुस्थित सालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्दै सहिद सप्ताह सुरु गरिएको हो ।

सो अवसरमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोलले उनको सालिकमा माला र पुष्पगुच्छा अर्पण गरिन् । तत्कालीन राणा शासकले विक्रम संवत १९९७ माघ १० गते शास्त्रीलाई पचलीस्थित रुखमा झुन्डाएर मृत्युदण्ड दिएको थियो ।

यस्तै माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो । सात दिन सहिद सप्ताह मनाएपछि माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख डंगोलले इतिहासको सम्मान गर्नुपर्ने धारणा राखिन् । टेकुस्थित शुक्रराज शास्त्रीको सालिकमा माल्यार्पणपछि उनले इतिहासको सम्मान गर्नुपर्ने बताइन् । उनले समयसँगै देशका लागि योगदान गर्नेहरुको योगदानको कदर गर्न सक्नुपर्ने बताइन् ।

उनले सहिदहरुको योगदानबारेको ज्ञान पुस्तान्तरण हुँदै जानुपर्ने भन्दै योगदानबारेको चर्चा पुस्तान्तरण भए मात्रै इतिहासलाई सम्मान गर्न सकिने र सच्चा नागरिक भएर काम गर्नसक्ने बताइन् ।

उपप्रमुख डंगोलले भनिन्, ‘इतिहासको सम्मान गर्न सक्नुपर्छ । समयसँगै योगदान दिनेहरु पनि अस्ताउँदै जानुहुन्छ । त्यसैले उहाँहरुको योगदानको कदर गर्नुपर्छ । पुस्तान्तरण हुनुपर्छ । पुस्तान्तरण भएपछि मात्रै इतिहासलाई बुझ्ने मान्छेले, इतिहासलाई सम्मान गर्ने व्यक्तिले आज वर्तमानमा सच्चा नागरिक भएर काम गर्नसक्छ । भविष्यको बाटो कोर्नसक्छ ।’

उपप्रमुख डंगोलले सहिद सप्ताह स्मरण गर्दा सहिदको जीवनबाट सिक्ने र पुस्तान्तरण गर्नुपर्ने धारणा राखिन् । उनले इतिहासलाई बुझेपछि आगामी दिनमा अगाडि बढ्न प्रेरणा मिल्ने उल्लेख गरिन् ।