वासिंटन, माघ ११ :

फक्स न्युजका सन ह्यानिटीसँगको अन्तर्वार्तामा टिकटकबारे सोधिएको प्रश्नमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको जवाफ अहिले चर्चामा छ ।

‘मलाई लाग्छ टिकटक आउनेछ,’ ट्रम्पले ह्यानिटीलाई भने ।

ट्रम्पले राष्ट्रपतिको पदभार ग्रहण गरेपछि अमेरिकामा टिकटक प्रतिबन्धित गरिएको थियो । त्यहाँको सर्वोच्च अदालतले पनि टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयलाई समर्थन गर्‍यो ।

यसपछि ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गरे । यसमा, टिकटकलाई ७५ दिनको ग्रेस अवधि दिइएको थियो ।

यदि एप (टिकटक) बिक्री नभएमा कानुनद्वारा प्रतिबन्धित हुने भनिएको थियो ।

ट्रम्पलाई यो एपमार्फत चिनियाँ सरकारले अमेरिकी नागरिकको जासुसी गर्न सक्ने डरबारे पनि सोधिएको थियो ।

यसबारे ट्रम्पले भने, ‘तपाईं चीनमा बनेको सबै कुराका लागि यो भन्न सक्नुहुन् छ। हाम्रा टेलिफोनहरू पनि चीनमा बनेका छन् ।’

ट्रम्पले टिकटक प्रयोगकर्ताहरू प्रायः युवा रहेको बताए । ‘के युवाहरूको जासुसी गर्नु महत्त्वपूर्ण छ ?’ उनले प्रतिप्रश्न गरे ।

यसबारे ह्यानिटीले भने कि उनी चीनले कसैको जासुसी गरोस् भन्ने चाहँदैनन् । ‘तर तिनीहरूले तपाईंको टेलिफोन बनाउँछन्,’ ट्रम्पले भने । तिनीहरूले तपाईंको कम्प्युटर बनाउँछन् । के त्यो ठूलो जोखिम होइन र ?’ -बीबीसी