
देशभरका सिनेमा घरहरुमा चैत १५ देखि प्रदर्शन हुने नेपाली चलचित्र ‘डोरी’ को नयाँ पोस्टर सार्वजनिक भएको छ ।
पोस्टरले चलचित्रको पात्र र कथावस्तुको झलक प्रस्तुत गरेको छ । पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरू प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन र राज थापालाई प्रस्तुत गरिएको छ ।
पोस्टरको केन्द्रमा अभिनेत्री बराइलीलाई पारम्परिक पोसाकमा मुस्कानसहित देखाइएको छ । जसले चलचित्रको सांस्कृतिक पृष्ठभूमिको संकेत गर्छ । अन्य पात्रको विभिन्न भावभंगीमा देखिएको उपस्थिति कथावस्तुमा रहेको विविधतालाई दर्शाउँछ ।
पोस्टरमा मुख्यतः दुई पात्रलाई रोचक ढंगले प्रस्तुत गरिएको छ- एक पात्रले हास्यव्यङ्ग्य झल्काउने भावमा छ भने अर्को पात्र अत्यन्त आक्रोशित मुद्रामा देखिन्छ । यसले कथावस्तुमा हास्य, संघर्ष र गम्भीर भावनाहरूको मिश्रण रहेको संकेत दिन्छ । पोस्टर डिजाइन विजय बस्यालले गरेका हुन् ।
‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । यसमा वीरेन्द्र सिंह कुशवाहाको पनि अभिनय छ । चलचित्रमा निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माताका रूपमा राज थापाले जिम्मेवारी सम्हालेका छन् ।
‘डोरी’मा स्क्रिप्ट डा. मनोज पण्डित हुन् भने मुख्य सहायक निर्देशक दिनेशबहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, संगीत निर्देशक राजनराज शिवाकोटी, कला निर्देशक रोशन दिवाना, स्थल ध्वनि रेकर्डिस्ट किशोर खनाल, सम्पादक मिलन श्रेष्ठ, रङ संयोजक रेनिश फागो छन् । निर्देशक लामाका अनुसार यो चलचित्रले कथावस्तु, अभिनय र प्राविधिक पक्षमा नवीनता ल्याउनेछ ।