काठमाडौं, माघ २२ :

चर्चित प्रोडक्सन डिजाइनर तथा कार्यकारी निर्माता युवराज कार्कीले आफ्नो डेब्यु निर्देशन चलचित्र ‘मनको बाँध’ घोषणा गरेका छन् । उनले चलचित्रको शीर्षक पोस्टर सार्वजनिक गर्दै सोमबार यसको औपचारिक घोषणा गरेका हुन् ।

‘मनको बाँध’ लाई श्रीत फिल्म्स एन्ड इन्टरटेनमेन्ट र नटराज क्रियसनले संयुक्त रूपमा निर्माण गर्दै छन् । अहिलेसम्म कलाकार तथा प्राविधिकहरूको नाम खुलाइएको छैन ।

नेपाल चलचित्र प्राविधिक संघका महासचिवसमेत रहेका युवराज कार्की नेपाली चलचित्र क्षेत्रमा एक अनुभवी प्रोडक्सन डिजाइनरका रूपमा परिचित छन् । उनले ‘जात्रा’, ‘शत्रु गते’, ‘दाल भात तरकारी’ र ‘दी सिक्रेट अफ राधा’ जस्ता चलचित्रहरूमा प्रोडक्सन डिजाइनको जिम्मेवारी सम्हालेका थिए । त्यसैगरी उनी दुई वर्षअगाडि रिलिज भएको चलचित्र ‘के घर के डेरा’मा कार्यकारी निर्माताको भूमिकामा थिए, जसको सिक्वेल हाल पोस्ट-प्रोडक्सनमा छ ।

‘मनको बाँध’ ग्रामीण जीवनका संघर्ष, आर्थिक असमानता, वैवाहिक असमानता, सामाजिक अन्याय र हिंसाका विषयमा आधारित छ । यसले महिलाको साहस र धैर्यताको कथालाई प्रभावशाली रूपमा चित्रण गर्ने निर्देशक कार्कीले बताए ।

‘मनको बाँध’ नामले नेपाली चलचित्र इतिहासमा पनि ठुलो महत्त्व राख्छ । २०२८ सालमा तत्कालीन शाही नेपाल चलचित्र संस्थानले यसै नामको चलचित्र निर्माण गरी २०३० सालमा रिलिज गरेको थियो । प्रकाश थापाको निर्देशनमा बनेको उक्त चलचित्रमा सल्यान केसी र सुष्मा शाही मुख्य भूमिकामा थिए ।