
हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘भूठान’ लाई अमेरिका र क्यानडामा हलिउडको डिस्ट्रिब्युटर कम्पनी बफेलो एटले वितरण गर्ने भएको छ ।
अमेरिकामै रहेका यसका एक निर्माता राजेन्द्र ठकुराठीका अनुसार बफेलो एटका डाइरेक्टर ज्याकब सिल्भेरासँग हालै वितरण सम्झौता भएको हो । बफेलो एटले यसअघि अस्कर अवार्डमा गएको फिल्म विमेन अफ द आवरलगायत टेरिफाएर थ्री, निकोलस केज अभिनित फिल्म आर्केडियन, रोबर्ट डी निरो अभिनित वास मी इन दी रिभर पनि वितरण गरिसकेको छ ।
अंग्रेजीमा ‘द वर्ल्डस ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य साथै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द लामा , रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी साथै हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन् । हलिउडको साग अफट्राअन्तर्गत रहेर बनेको यो पहिलो नेपाली चलचित्र हो जसमा हलिउडका केही प्राविधिकहरुले पनि काम गरेका छन् ।
सन् २०१३ मा आएको चलचित्र साँघुरोबाट उत्कृष्ट पटकथा लेखनमा राष्ट्रिय चलचित्र पुरस्कार एवं २०१९ मा पहिलो चलचित्र ‘बुलबुल’ निर्देशन गरेर ९२औं अस्कर अवार्डमा नेपालका तर्फबाट मनोनीत एवं नेपाल सरकारले प्रदान गर्ने सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार पाएका विनोद पौडेलको यो दोस्रो चलचित्र हो । चलचित्रको प्रचारप्रसारका लागि निर्देशक पौडेल र अर्का निर्माता सुशांक मैनाली केही दिनअघि नेपाल आइसकेका छन् ।
नेपालमा रहेका निर्माता अविरल थापा यस चलचित्रमार्फत हरिवंश आचार्यको नयाँ जन्म हुने र नेपाली दर्शकले नेपाली निर्देशकले हलिउडमा गएर बनाएको विश्वस्तरको सिनेमाको स्वाद चाख्न पाउनेमा विश्वस्त रहेको बताउँछन् ।
भुटानदेखि भारत,नेपाल हुँदै अहिले अमेरिकामा बसोबास गरिरहेका भुटानीहरुले थातथलो छोड्नुपर्दा आफ्नो घर हराएको कथा र अस्तित्वको खोज समेटेर बनेको यस चलचित्र भूठान (द वर्ल्डस् ह्याप्पिएस्ट म्यान) को अधिकांश छायांकन अमेरिकामै भएको छ ।
यस चलचित्रको प्रमुख निर्मातामा राजेन्द्र ठकुराठी, अमिताव जोशी र अविरल थापा, सुशांक मैनाली र किर्तना बास्कोटा छन् । साथै कार्यकारी निर्मातामा विकास भिटो अधिकारी, कौशिला खनाल कर्माचार्य, रमेश भट्ट, अपार श्रेष्ठ, भुवन प्याकुरेल छन् । सह-निर्मातामा जोयस पाण्डे, प्रदीप शर्मा (बडाईं) र नवराज पराजुली छन् । यसका अलावा दीपक गजमेर लाइन प्रड्युसर र एसोसियट प्रड्युसरमा एली बोहरा छन् ।
चलचित्रमा सुशन प्रजापतिको छायाकन,अन्जय खड्काको सम्पादन, डिकेश खड्गी शाहीको ध्वनि, श्यामवरण केमको संगीत, सूर्य शाहीको कास्टिङ, उज्ज्वल श्रेष्ठको पब्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, बलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहेको छ । किर्तना बास्कोटा, एली बोहोरा, विशाल डोटेल र समुन्द्रराज घिमिरेले निर्देशनमा सहयोग गरेका छन् ।
यस चलचित्रलाई ठकुराठी ब्रोज,भ्याकेन्ट लाइट, एभरेस्ट इन्टरटेनमेन्ट,अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको हो । नेपालमा भने यसको वितरण आरआर फिल्मस् प्रोडक्सनले गर्नेछ ।