काठमाडौं, फागुन ८ :

चलचित्र ‘लाज शरणम्’को प्रचारप्रसारलाई रोक लगाउने उच्च अदालत पाटनको अन्तरिम आदेशबारे चलचित्र निर्देशक समाजले आपत्ति जनाएको छ।  अदालतले प्रदर्शन तयारीमा रहेको फिल्म ‘लाज शरणम्’को प्रचारप्रसार रोक्ने आदेश दिएपछि निर्माण टिमको प्रचारप्रसार ठप्प भएको छ ।

चलचित्र निर्देशक समाजका निर्देशक जनकदीप पराजुलीले विज्ञप्ति जारी गर्दै, प्रक्रियामा नपुगीकन फाट्टफुट्ट प्रचार सामग्रीका आधारमा चलचित्रमाथि अंकुश लगाउने कामले सर्जकलाई झस्काएको उल्लेख गरेका छन्।विज्ञप्तिमा थप भनिएको छ, ‘यो आदेशले चलचित्रको करोडौँ लगानी जोखिममा पार्दछ र सर्जकलाई नराम्ररी झस्काउँछ ।’

फिल्मको विवाद:

फिल्म ‘लाज शरणम्’मा पूर्वमन्त्री अफताव आलमले आफ्नो अनुहारसँग हुबहु मिल्नेगरी फिल्ममा चरित्र निर्माण गरेको भन्दै मुद्दा दायर गरेका थिए। मंगलबार न्यायाधीधद्वय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त इजलासले फिल्मलाई केन्द्रीय चलचित्र जाँच समितिले अनुमति नलिईकन सामाजिक सञ्जाल र अन्य सञ्चारमाध्यममा प्रचारप्रसार नगर्न र नगराउन अन्तरिम आदेश दिएको थियो ।

यस आदेशसँगै, फिल्मको प्रचार ठप्प भएको छ। अदालतले चलचित्रको रिलिज रोक्न भनेको छैन, तर सेन्सर पास नहुँदासम्म कुनै पनि माध्यमबाट प्रचारप्रसार नगर्न आदेश दिइएको छ।आलमले आफ्नो चरित्रको हुलिया अनुमति नलिईकन फिल्ममा उतारिएको भन्दै त्यसका कारण प्रदर्शन रोक्न माग गरेका थिए ।

निर्माण पक्षको प्रतिक्रिया:

निर्माण पक्षले अदालतको आदेशमा कुनै प्रतिक्रिया जनाएका छैनन्, तर आज हुने भनिएको ट्रेलर रिलिज स्वतः रोकिएको छ । अब निर्माण पक्ष सेन्सर पासको लागि तयारी गरिरहेको छ । चलचित्रको भविष्य अब सेन्सर बोर्डको निर्णयमा निर्भर छ ।

चलचित्रका बारेमा:

‘लाज शरणम्’मा प्रमुख पात्र सिताराम कट्टेल धुर्मुसले निभाएका छन् । यो हास्यप्रधान चलचित्र हो, जसमा एक भारतीय व्यापारीको भूमिका धुर्मुसले निभाएका छन् । फिल्मको पोस्टर र टिजरमा धुर्मुसको हुलिया पूर्वमन्त्री आलमसँग मेल खाने भएकोले विवाद उत्पन्न भएको हो ।