
आगामी चैत १५ गते रिलिज हुने नेपाली चलचित्र ‘डोरी’ को पहिलो गीत ‘चुच्चे ढुंगो उही टुंगो’ सार्वजनिक गरिएको छ ।
राजनराज सिवाकोटी र अन्जु पन्तको स्वर रहेको यो गीत राजनराज सिवाकोटीले नै लेखेका र संगीतबद्ध गरेका हुन् । गीतमा आर्यन सिग्देल र अञ्जना बराइलीको नृत्य देख्न सकिन्छ ।
संगीत संयोजन राजन ईशानले गरेका छन् भने सहायक स्वर सुनी थापाले दिएकी छिन् । यसको छायांकन निर्देशक सौरभ लामाले गरेका हुन् भने नृत्य निर्देशन कविराज गहतराजले गरेका छन् । गायक, गीतकार तथा संगीतकार राजनराज सिवाकोटी नेपाली समाजमा प्रचलित ठेट शब्दहरूलाई गीतमा लयबद्ध गर्न माहिर मानिन्छन् ।
यस गीतमा पनि उनले उसिनेको आलु, नुन खुर्सानी, गुन्द्रुक, ढिँडो, घट्ट, हर्पे मुरी अन्न, डोकोजस्ता ठेट नेपाली शब्दको प्रयोग गरेका छन्, जसले गीतलाई नेपाली मौलिकताको झल्को दिएको छ ।
यसअघि ‘डोरी’ का पोस्टरहरू सार्वजनिक गरिएको थियो, जसले चलचित्र थ्रिलर तथा हरर श्रेणीको हुनसक्ने संकेत दिइएको थियो । तर, सार्वजनिक गीतमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइलीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । यसअघि आर्यन र अञ्जना सुपरहिट चलचित्र ’पुजार सार्की’मा सँगै अभिनय गरेका थिए ।
‘डोरी’ को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । चलचित्रमा प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्रसिंह कुशवाहालगायत कलाकारको अभिनय छ ।
चलचित्रका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा हुन् । चलचित्रको स्क्रिप्ट मनोज पण्डितले लेखेका हुन् । मुख्य सहायक निर्देशक दिनेशबहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, संगीत निर्देशक राजनराज सिवाकोटी, कला निर्देशक रोशन दिवाना, स्थल ध्वनि रेकर्डिस्ट किशोर खनाल, सम्पादक मिलन श्रेष्ठ, रङ संयोजक रेनिश फागो रहेका छन् ।