
एन्फा यू-१६ युथ लिग फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड क्लबले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा चर्च ब्वाइजले पुलिसमाथि ४-१ को जित निकाल्दै प्रतियोगितामा पाँचौं जित दर्ता गराएको हो । जितसँगै चर्च ब्वाइजले सात खेलबाट १८ अंक जोडेको छ । पराजित पुलिसको समान खेलबाट १३ अंक छ ।
चर्च ब्वाइजको जितमा शनिल मगरले दुई गोल गरे भने अनिशकुमार मगर र सुशान्त थापामगरले एक-एक गोल गरे । पुलिसका लागि रोहन पोखरेलले सान्त्वना गोल गरे ।
खेलको चौथो मिनेटमै चर्च ब्वाइजले सुशान्त थापामगरको गोलमार्फत सुरुआती अग्रता लियो । त्यसपछि खेलको २६औं मिनेटमा चर्च ब्वाइजका अनिशकुमार मगरले गोल गरे । खेलको ३७औं मिनेटमा शनिल मगरले गोल गरेपछि खेलको पहिलो हाफमा चर्च ब्वाइजले पुलिसमाथि ३-० गोलको अग्रता बनायो ।
खेलको ६९औं मिनेटमा शनिल मगरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे । खेलको ७१औं मिनेटमा पुलिसका रोहन पोखरेलले सान्त्वना गोल फर्काए ।