काठमाडौं, माघ १५ :

नेत्रविक्रम चन्द  ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले काठमाडौंको बूढानीलकण्ठमा ‘सी व्यापार केन्द्र’ खोलेको छ ।

पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र विप्लवले सोमबार संयुक्त रुपमा रिबन कोटेर व्यापार केन्द्रको औपचारिक उद्घाटन गरे ।

व्यापार केन्द्रमा अहिले चामल, तेल, सिमीलगायता वस्तु राखिएका छन् । पछि विस्तारै धान, मकै, आलु, मह, सिमी, मास, फापर, गार्मेन्टका कपडालगायता वस्तु राखिने त्यस अवसरमा जानकारी गराइयो ।

प्रारम्भिक रुपमा अहिले एउटा पसलबाट सुरु भएको र त्यसलाई विस्तारै काठमाडौँ उपत्यकाका धेरै ठाउँमा सञ्चालनमा ल्याइने बताइएको जनाइएको छ। यहाँ राखिएका धेरैजसो वस्तुहरु आफैंले उत्पादन गरेका हुन् । विप्लव नेतृत्वको नेकपाले अहिले चितवन, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलालीलगायता जिल्लामा खेती गरिरहेको छ ।

प्रचण्ड नेतृत्वको पार्टीबाट अलग भएका विप्लवले उद्घाटनामा पूर्वअध्यक्षको हातबाट नगरेर किन नेता नेपालको हातबाट गरे भन्नेबारे धेरैको चासो छ । यद्यपि उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका नेता जनार्दन शर्मा, नेपाल समाजवादीका गंगानारायण श्रेष्ठलगायतको नेताहरुको उपस्थिति थियो ।