काठमाडौं, माघ १५ :

नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं चरणको ‘चेम्बर एक्स्पो २०२५’ काठमाडौंको भृकुटीमण्डपमा आगामी बिहीबारदेखि सुरु हुँदै छ ।

अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर एन्ड एआई प्रोजेक् सहित आठौं नेपाल चेम्बर एक्सपो माघ १७ देखि २१ गतेसम्म चल्ने आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । चेम्बर मेलामा स्थानीय उत्पादनहरुको प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्य रहेको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवर्धन केन्द्रसँगको सहकार्यमा चेम्बरले अन्तर्राष्ट्रिय स्तरको व्यापार मेला गर्न लागेको हो ।

नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यवसायिक क्षेत्रहरूलाई एकीकृत गर्ने मुख्य उद्देश्य रहेको अध्यक्ष अग्रवालको भनाइ छ । सूचना प्रविधिको विकाससँगै चेम्बर एक्स्पोको आकर्षणका रुपमा यो वर्ष सफ्टवेयर एन्ड एआई प्रोजेक्ट स्टलका रुपमा रहनु सबैभन्दा महत्त्वपूर्ण रहेको अध्यक्ष अग्रवालले बताए ।

चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालको सूचना प्रविधि उद्योगहरुलाई अन्तर्राष्ट्रिय आईटी कम्पनीको व्याकअपका रुपमा विकास गरिनुपर्नेमा जोड दिए । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी प्रमुख शरदविक्रम राणाले देशभित्र खपत हुने सफ्टवेयरहरुको प्रयोग गर्दा आन्तरिक उत्पादन एवं प्रतिस्पर्धाकै आधारमा चयन गरिनुपर्नेमा जोड दिए ।

क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक गतिविधि, प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न सहयोग पुग्ने चेम्बर मेला समितिका सभापति राष्ट्रभूषण चाकुबजीले जानकारी दिए ।

चेम्बर अफ कमर्सको सूचना प्रविधि समिति सभापति विज्ञान श्रेष्ठले चेम्बर एक्स्पोमा योपटक आईटी उत्पादनहरुलाई उच्च प्राथमिकतामा राखिएको बताए ।

विगतमा झैं यस वर्ष पनि एक्स्पोमा कृषिजन्य वस्तुहरु, हस्तकला, लत्ताकपडाका सामानहरु, अटोमोबाइल, इलेक्ट्रोनिक्स होम एप्लायन्स, लजिस्टिक टेक्सटायल, फर्निचर, गार्मेन्ट, लेदर गुड्स, ज्वेलरी, कस्मेटिक्स, फुड एन्ड डेरी प्रोडक्टस् आदि सामग्रीको प्रदर्शनीले आगन्तुकका लागि एक्सपो एउटा उपयुक्त आकर्षण बन्न सक्ने विश्वास गरिएको छ ।

चेम्बर एक्स्पोमा नेपाल, बंगलादेश, भारत, चीन, थाइल्याण्ड, युएई, दक्षिण कोरिया, मलेसिया, पाकिस्तानलगायत देशमा उत्पादित वस्तुको प्रर्दशनी र व्यवसायीहरुले सहभागिता जनाउनेछन् ।

स्वदेशी र विदेशी गरी १२५ भन्दा बढी स्टल एक्स्पोमा राखिनेछन् । पाँच दिन चल्ने एक्स्पो कम्तिमा ५० हजार दर्शकले अवलोकन गर्ने आयोजक नेपाल चेम्बर अफ कमर्सका मेला समिति संयोजक चाकुबजीले बताए ।

चेम्बर मेलामा ब्युटी पार्टनरका रुपमा डीएचसी, इन्स्योरेन्स पार्टनरको रुपमा प्रभु इन्स्योरेन्स, इन्टरनेट पार्टनरका रुपमा वर्ल्ड लिंक, तथा एजुकेसन पार्टनरका रुपमा सफ्टवेरिका कलेज सनवे कलेज छन् ।

अटो पेभेलियन, स्वदेशी खानाको परिकार र बालबालिकाका लागि प्ले जोन पनि राखिने एक्स्पोको व्यवस्थापन गरिरहेको इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रालिले उल्लेख गरेको छ ।