
देशको विकास र जनताका अधिकारका लागि आफ्नो जीवन त्याग गरेका अमर सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रदेश प्रमुखहरूले सहिदका सपना पुरा गर्नु सबैको दायित्व भएको बताएका छन् ।
सहिद दिवसका अवसरमा सन्देश जारी गर्दै सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले नेपाली जनतालाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न बनाउन इतिहासका विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन बलिदान गरेका सहिदका सपना साकार पार्नेतर्फ लाग्नुपर्नेमा जोड दिएका छन् ।
यसैगरी, बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सहिदहरूको बलिदानको मर्मलाई बुझी समृद्ध नेपालको साझा सपना साकार पार्न जिम्मेवारीपूर्वक आ- आफ्नो कर्तव्यपालनमा सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।
त्यस्तै, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नागरिक स्वतन्त्रता, लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि विभिन्न समयमा आफ्नो प्राण उत्सर्ग गर्ने सम्पूर्ण वीर सहिदहरुप्रति सम्मानका साथ श्रद्धासुमन अर्पण गरेका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि सहिदहरूको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्नुुपर्ने बताउँदै देशमा स्वच्छ राजनीतिक संस्कारको विकास तथा आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्ने सोचसहित अघि बढ्नु नै सहिदहरूप्रति सच्चा श्रद्धाञ्जली हुने उल्लेख गरेका छन् ।
यसैगरी, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, जवाफदेहिता र दिगो विकासबिना राष्ट्रिय लक्ष्य हासिल गर्न कठिन हुने बताउँदै विकासको लक्ष्य प्राप्तिका लागि सामूहिक प्रतिबद्धता जनाउनुपर्नेमा जोड दिएका छन् ।