काठमाडौं, माघ १७ :

प्रधानमन्त्री केपी ओलीले सहिदहरुको बलिदानको प्रेरणाबाट परिवर्तनका लागि काम गर्ने सौर्य प्राप्त हुने बताएका छन् ।

राष्ट्रिय सहिद दिवस, २०८१ का अवसरमा बुधबार नेपाल सरकारद्वारा सिंहदरबार परिसरमा आयोजित मूल समारोहको कार्यक्रममा प्रधानमन्त्री ओलीले विभिन्न कालखण्डमा लोकतन्त्रका लागि सङ्घर्ष गरेर बलिदान दिएका महान सहिदहरुले देशका लागि दिएको योगदान महत्त्वपूर्ण भएको बताए ।

प्रधानमन्त्री ओलीले सहिदहरुकै बलिदान र प्रेरणाबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्राप्ति भएको उल्लेख गरे । उनले यस प्रणालीलाई सबल र दिगो बनाउन आफूहरु लागि परेको जनाउँदै वास्तविक र पूर्ण लोकतन्त्रका लागि जनताका प्रतिनिधिले त्यस भावनाका साथ काम गर्नुपर्नेमा जोड दिए ।

उनले राजनीतिक प्रणालीमा परिवर्तन भइसकेकाले अब तानाशाही शासनसत्ताको बचाउका लागि शान्तिपूर्ण आन्दोलनमा लागेकालाई हत्या गर्ने त्यस प्रकारको शुङ्खला अन्त्य भएको बताए। उनले अहिले लोकतान्त्रिक प्रणाली र प्रक्रियाको रक्षाका लागि न्यायोचित कानुनबमोजिम समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यमा वर्तमान सरकार स्पष्टरुपमा अघि बढिरहेको बताए ।

कार्यक्रममा प्रतिनिधिसभाका उप्रधानमन्त्रीहरु, मन्त्रीगण, प्रतिनिधिसभाका उपसभामुख, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, सचिवहरु र विशष्ट व्यत्तिहरुको उपस्थिति थियो ।