खोटाङ, माघ १९ :

विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । 

हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न हलेसी तुवाचुङ नगरपालिकाले पहल थालेको हो ।

नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख विमला राईले बताए ।

“तीनवटा धर्मको सङ्गमस्थल हाम्रो नगरपालिकामा छ । यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक छ । यसका लागि पुरातत्व विभाग मार्फत संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक समूहसमक्ष दस्तावेज पुर्याउन पहल गरिने छ”, उनले भने, “विश्व सम्पदा सूचीमा सूचीकृत भएको खण्डमा चौतर्फी विकास गर्न सकिन्छ । यसका लागि विभिन्न निकायसँग छलफल सुरु गरिएको छ ।”

भष्मासुर राक्षसबाट बच्न शिवजीले आश्रय लिएको, किरात राई समुदायका पुर्खाले पत्ता लगाएको, पद्मसम्भवले बुद्धत्व प्राप्त गरेको, हलेसी गुफानजिकै किरात समुदायको उद्गम थलो तुवाचुङ रहेको लगायत आधारमा हलेसीलाई त्रिधार्मिकस्थल मान्ने गरिएको छ । मारातिका गुम्बासमेत रहेकाले हलेसीमा विश्वभरका बौद्ध धर्मावलम्बीले चार- पाँच महिना बसेर ध्यान गर्ने गरेका छन् ।

त्रिधार्मिकस्थल हलेसीको दर्शन तथा अवलोकन गर्न स्वदेशी बाहेक चीन, भारत, भुटान, सिङ्गापुर, जापान, रूस, फ्रान्स, युक्रेन, अमेरिकालगायतका पर्यटक आउने गरेका छन् । यातायातको सुविधा भएसँगै पछिल्लो समय दैनिक हजारौँको सङ्ख्यामा पर्यटक आउने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।