
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १५ जनाविरुद्ध आज जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको छ ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा सरकारी वकिलको कार्यालयले उनीसहितका १५ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।
लामिछाने, उनका व्यावसायिक साझेदार पूर्वडीआईजी छविलाल जोशीसहित रामबहादुर खनाल, रबिना रिमाल, विशाल तामाङ,नवीन अछामी, कविता तामाङ, दिपक लामा, असरफ अलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला , शिवबहादुर गुरुङ र प्रगती श्रेष्ठविरुद्ध मुद्दा दर्ता गरिएको हो । जीबी राई लगायतका व्यक्ति विरुद्ध यसअघि नै मुद्दा दायर भईसकेको छ ।
लामिछानेविरुद्ध चितवनमा भने ठगी सम्बन्धी कसुरमा मात्र मुद्दा दायर भएको छ । चितवनमा लामिछाने आफैंले ऋण लगेको नदेखिएकाले ठगीमा मात्र मुद्दा चलाइएको बताइएको छ ।
कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतमा उनीविरुद्ध संगठित अपराधको कसुरमा पनि मुद्दा दायर भएको थियो ।
साहारा सहकारीको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने राय प्रहरीको छ ।बचतकर्ताहरूले ३८ करोडभन्दा बढी रकम ठगी गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएका थिए ।
यसअघि लामिछाने सहकारीको मुद्दाबाट विभिन्न जिल्ला अदालतबाट धरौटी रकम बुझाएर छुटेका छन् । उनीविरुद्ध वीगगञ्जको सानो पाइला सहकारीको बचत अपचलनमा पनि मुद्दा दायरको तयारी भएको छ ।