
शशिला मोटर्स प्रालिले वीरगन्जमा आफ्नो नयाँ बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ। प्रतिमा चोकस्थित नयाँ केन्द्रको उद्घाटन मधेश प्रदेशसभा सांसद तथा पूर्वराज्यमन्त्री रहबर अन्सारीले गरेका हुन् ।
उद्घाटन समारोहमा अन्सारीले विद्युतीय सवारीको प्रयोगलाई प्रवर्द्धन गर्नुपर्ने बताउँदै, विद्युतको आन्तरिक खपत बढाउने नीति अवलम्बन गर्नुपर्नेमा जोड दिए । उनले विद्युतीय सवारीसाधनको प्रयोगले इन्धन आयात घटाउनुका साथै वातावरणीय प्रदूषण न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुग्ने बताए ।
शशिला मोटर्स प्रालिका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले कम्पनीले जहिले पनि गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए । उनले बिक्री मात्र नभई, बिक्रीपछिको सेवा सहज र प्रभावकारी बनाउने लक्ष्य रहेको उल्लेख गरे ।
कम्पनीले वीरगन्ज शाखा तथा सिमरा वर्कसप सञ्चालनमा आइसकेपछि बर्दिवास, दाङ, नेपालगन्ज र बुटवलमा समेत छिटै शाखा विस्तार गर्ने योजना रहेको जानकारी दिएको छ । कार्यक्रममा भूमि समस्या समाधान समिति पर्साका अध्यक्ष तबरेज अहमद, नेकपा एमाले नेता सलाउद्दिन अहमद, अकोराबका वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटालगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।
उद्घाटनकै अवसरमा शशिला मोटर्सले पाँचवटा विद्युतीय माइक्रोबस ग्राहकलाई हस्तान्तरण गरेको छ । यसअघि कम्पनीले बाराको सिमरामा रहेको मल्टिप्रपोज यातायात प्रालिलाई ३० वटा माइक्रोभ्यान हस्तान्तरण गरिसकेको छ । शशिला मोटर्सले हाइगर, किटोन, भेन्चीलगायत विभिन्न ब्रान्डका विद्युतीय सवारी-साधनको बिक्री गर्दै आएको छ ।