
नेपाल राष्ट्र बैंकले दुई अर्ब १९ करोड रुपैयाँ संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव आह्वान गरेको छ ।
राष्ट्र बैंकले आइतबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको नाउँमा सार्वजनिक सूचना जारी गर्दै उक्त परिमाणको निक्षेप लगानीको प्रस्ताव आह्वान गरेको हो । उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६६ दिने मुद्दतीका रुपमा लगानी गर्न प्रस्ताव आह्वान गरिएको राष्ट्र बैंकको भनाइ छ ।
रकम लगानीको अवधि २०८१ फागुन ६ गतेदेखि २०८२ फागुन ६ गतेसम्म रहनेछ । रकम लगानी गर्न चाहने बैंक तथा फाइनान्स कम्पनीहरुले यही माघ २९ गते मंगलबारसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको ब्याजसमेत तोकेर प्रस्ताव पेस गर्नुपर्नेछ ।
राष्ट्र बैंकका अनुसार लगानीका लागि छुट्याइएको कुल रकममध्ये वाणिज्य बैंकहरुको एक अर्ब ७२ करोड २० लाख, विकास बैंकहरुका लागि ३२ करोड ८५ लाख र फाइनान्स कम्पनीहरुका लागि १० करोड ९५ लख रुपैयाँ रहेको छ ।
रकम लगानीको बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई वर्ष पूरा गरेको हुनुपर्ने, निष्क्रिय कर्जा राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेको हुनुपर्नेलगायत प्रावधान तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।