काठमाडौं, फागुन २ :

खराब कर्जा व्यवस्थापन गर्न बैंकहरुलाई हम्मे-हम्मे परेको छ । अर्थतन्त्र सुस्त भएकै कारण ऋण असुलीमा समस्या उत्पन्न हुँदा बैंकहरुलाई निरन्तर बढ्दै गएको खराब कर्जाको व्यवस्थापन गर्न हम्मे-हम्मे परेको हो ।

बैंकिङ क्षेत्रमा अहिले अधिक तरलता छ । तर बजारमा नयाँ कर्जाको माग खासै छैन । उद्योग, व्यवसाय सुस्त छ । यो अवस्थामा कर्जाको माग नहनु स्वभाविक हो । यसबीचमा बैंकहरुले विगतमा प्रवाह गरेको कर्जाबाट पनि नियमित रुपमा सावाँ-ब्याज असुल गर्न सकेका छैनन् । यसले गर्दा पनि बैकिङ क्षेत्रमा खराब कर्जा निरन्तर बढ्दै गएको छ ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल खराब कर्जा बढेर दुई खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ । यो कर्जा भनेको बैंकिङ क्षेत्रले यस अवधिमा प्रवाह गरेको कुल ५४ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँमध्येको चार दशमलव ९२ प्रतिशत हिस्सा हो ।

गत आवको सोही अवधिमा बैंकिङ क्षेत्रमा खराब कर्जाको हिस्सा औसतमा तीन दशमलव ७३ प्रतिशत मात्र थियो । जसअनुसार गत आवको दोस्रो त्रैमासमा बैंक तथा फाइनान्स कम्पनीहरुले कुल ५० खर्ब ७८ अर्ब ६६ करोड रुपैंयाँ कर्जा प्रवाह गर्दा एक खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ बराबरको कर्जा खराब देखिएको थियो ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुले मात्र कुल ४८ खर्ब सात अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा चार दशमलव ७३ प्रतिशतका दरले हुन आउने दुई खर्ब २७ अर्ब ४० करोड रुपैयाँबराबरको कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरुले ४४ खर्ब ८७ अर्ब १७ करोड रुपैंयाँ कर्जा प्रवाह गर्दा औसतमा तीन दशमलव ६३ प्रतिशतका दरले हुन आउने एक खर्ब ६२ अर्ब ८८ करोड रुपैयाँबराबरको कर्जा खराब देखिएको थियो ।

विकास बैंकहरुले मात्र भने चालु आवको पुस मसान्तसम्ममा कुल पाँच खर्ब १७ अर्ब ७४ करोड २० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा पाँच दशमलव ११ प्रतिशतका दरले हुन आउने २६ अर्ब ४५ करोड रुपैयाँ  कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा विकास बैंकहरुले चार खर्ब ९६ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा १७ अर्ब ९३ करोड १७ लाख रुपैयाँ कर्जा खराब देखिएको थियो ।

फाइनान्स कम्पनीहरुले मात्र भने चालु आवको पुस मसान्तसम्ममा एक खर्ब तीन अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा १२ दशमलव ८५ प्रतिशतका दरले हुन आउने १३ अर्ब २५ कारेड ७० लाख रुपैयाँबराबरको कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरुले कुल ९४ अर्ब ५४ करोड ४० लाख रुपैयाँबराबरको कर्जा प्रवाह गर्दा नौ दशमलव १८ प्रतिशतका दरले हुन आउने नौ अर्ब २७ करोड ४७ लाख रुपैयाँ बराबरको कर्जा खराब देखिएको छ ।