मोरङ, फागुन ७ :

विराट गोल्डकप फुटबल प्रतियोगिताको नवौँ संस्करण यही फागुन १९ गतेदेखि २८ गतेसम्म विराटनगरको सहिद रङ्गशालामा आयोजना हुने भएको छ । 

विराट गोल्डकप टष्ट्रद्वारा सोमबार रङ्गशालामा आयोजित पत्रकार सम्मेलनमा फुटबल प्रतियोगिता ‘फ्लडलाइट्स’ को माध्यमबाट रात्रिकालीन समयमा हुने जानकारी दिइएको छ ।

प्रतियोगितामा नेपाल र भारतका १० वटा ‘ए’ डिभिजनका टिमको सहभागी हुने प्रतियोगिताका संयोजक नविन रिजालले जानकारी दिए । उहाँका अनुसार नेपालको तर्फबाट एनआरटी, थ्रिस्टार, मछिन्द्र क्बल, चर्च ब्वाइज, विभिगीय टिम नेपाल पुलिस, एसपिएफ, त्रिभुवन आर्मी, आयोजक मोरङ टिम सहभागी हुनेछन् । 

प्रतियोगिताका विजेतालाई ११ लाख र उपविजेतालाई पाँच  लाख पुरस्कार दिने जनाइएको छ । उत्कृष्ट प्रशिक्षकलाई १५ हजार, उत्कृष्ट गोलरक्षकलाई १५ हजार, सर्वाधिक गोलकर्तालाई नगद १५ हजार, दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई ११ हजार पुरस्कार प्रदान गरिने संयोजक रिजालले जानकारी दिए । 

उनका  अनुसार सर्वोकृष्ट हुने खेलाडीलाई ५१ हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न एक करोड ५० लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।