
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युत् आयोजनाको आईपीओ रोकिनु दुखद भएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघले आयोजनाको ‘जलविद्युत आयोजना : लगानी, सेयर व्यवस्थापन र चुनौती’ विषयक अन्त्रक्रिमा उनले सर्वसाधारणको लगानीबाटै जलविद्युत् क्षेत्रको विकास सम्भव भएको बताएका छन् ।
हाल नेपाल विद्युत् प्राधिकरणले निजी क्षेत्रका १२ हजार मेगावाटका आयोजनाको विद्युत खरिद-बिक्री सम्झौता (पीपीए) गरेको घिसिङले बताए । उनले नेपालको विद्युत् उत्पादन क्षमता ३५ सय मेगावाट पुगे पनि मौसम परिवर्तनले पानीको बहाब घट्दा हिउँदमा ११ सय मेगावाट हाराहारी मात्रै उत्पादन भइरहेको पनि बताए ।
२८ हजार ५०० मेगावाट विद्युत् पुर्याउन विद्युत् प्राधिकरण त्योभन्दा २० प्रतिशत थप पीपीए खोल्ने पक्षमा रहेको घिसिङले बताए । हाल पीपीए भएका सबै परियोजना विविध कारणले निर्माणको चरणमा जान नसकेकाले पनि प्राधिकरणले थप पीपीए नखोलेको उनको भनाइ छ ।
नेपाल विद्युत् प्रधिकरण ७ खर्बको सम्पत्ति राखेर बसेको भन्दै सर्वसाधरणका लागि प्राथमिक सेयर खोल्ने चरणमा रहेको घिसिङले बताए । प्राधिकरणले २० प्रतिशत सेयर जारीगर्ने तयारी गरिरहेको उनको भनाइ छ ।
त्यस्तै कार्यक्रममा विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले जलविद्युत् आयोजनाको नियमन कुन संस्थाले गर्ने भन्ने विषयमा सरलीकरण गरिरहेको बताए । जलविद्युत्का आयोजनाले प्राथमिक सेयर निष्कासन गर्दा धितोपत्र बोर्ड, कम्पनी रजिस्ट्रार र नियमन आयोगमा कागजपत्र बुझाउनुपर्ने व्यवस्थालाई सहजीकरण गर्न खोजेको बताएका हुन् ।
‘जलविद्युत् आयोजनाको प्राविधिक पाटो मात्रै हेर्छौं,’ आयोग अध्यक्ष धितालले भने,‘जलविद्युत् उत्पादन हुन सक्छ कि सक्दैन भन्ने विषयमा पूर्वअनुमति दिन्छौं । धितोपत्र बोर्डसँग मिलेर अहिलेको प्रक्रियालाई कसरी सहज बनाउन सकिन्छ भन्नेमा छलफल गर्छौं ।’