
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्न चित्रकला र संगीत जस्ता गतिविधिहरू महत्त्वपूर्ण रहेको बताएका छन् । उनले विद्यालयका पाठ्यक्रमबाहेकका सृजनात्मक कार्यक्रमहरूमा पनि विद्यार्थीहरूको सक्रिय सहभागिता बढाउनु पर्ने बताएका छन् ।
काठमाडौं महानगरपालिका-७ द्वारा बुधबार आयोजित पीएल सिंह चित्रकला प्रतियोगिता कार्यक्रममा प्रमुख अतिथि रहेका बालेनले विद्यार्थीहरूको धेरै समय विद्यालयमा बित्ने भएकाले पढाइ बाहेकका अन्य सृजनात्मक गतिविधिहरूमा पनि उनीहरूको सहभागिता बढाउनु पर्ने बताए ।
चित्रकला विद्यार्थीहरूको नेतृत्व क्षमता विकासमा सहयोग पुर्याउने र भविष्यमा उनीहरूलाई लिडरसिपका लागि प्रेरणा दिने मेयर साहले बताए ।
बालेनले काठमाडौं महानगरका प्रथम मेयर पिएल सिंहको योगदानको चर्चा गर्दै विद्यार्थीलाई उनको बारेमा पनि जानकारी गराउनु पर्ने बताए। सिहंकोबारेमा पढ्दा विद्यार्थीहरूलाई प्रेरणा मिल्ने र भविष्यमा उनीहरूलाई लिडरसिपको प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गरे।
सृजनात्मक क्रियाकलापहरूको महत्त्वलाई जोड दिंदै बालेनले भने, ‘ पेन्टिङ र संगीत जस्ता गतिविधिहरूले विद्यार्थीहरूको सिर्जनात्मक क्षमता खोल्न मद्दत पुर्याउँछन् । यसले विद्यार्थीलाई सकारात्मक सोच र रचनात्मकता भित्र्याउन मद्दत पुर्याउँछ ।’
महानगरपालिकाले यस प्रकारका शैक्षिक र सृजनात्मक कार्यक्रमहरूको आयोजना गर्दै विद्यार्थीहरूको सर्वांगीण विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।