
भारतको ओडिसा राज्यस्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले प्रकृति लम्सालको नाममा नेपाली विद्यार्थीलाई विशेष छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
कलेजले बिहीबार एक सूचना जारी गर्दै लम्सालको सम्मान र संस्मरणका लागि उनको नाममा विशेष छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको हो ।
केआईआईटीका प्राध्यापक अच्युत सामन्तले प्रकृति राम्रो विद्यार्थी भएको स्मरण गर्दै उनीजस्ता अन्य विद्यार्थीलाई पढ्ने वातावरण प्रभावकारी बनाउन छात्रवृत्तिको घोषणा गरिएको बताए ।
सामन्तले नेपाली दूतावासका काउन्सिलरहरू, नेपालका परराष्ट्रमन्त्री र गृहमन्त्रीसँग फोनमा कुराकानी गरी यस विषयमा गरिएका कारबाहीहरूको बारेमा जानकारी गराएका थिए । ओडिसा राज्यका शिक्षामन्त्री सूर्यवंशी सुरजले केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चितताको प्रतिबद्धता जनाएका छन् ।
केआईआईटीको होस्टेलमा यहीँ फागुन ४ गते झुन्डिएको अवस्थामा प्रकृतिको शव फेला परेको थियो । प्रकृतिको बुधबार राति नै नेपाल ल्याएर दाहसंस्कार गरिएको छ ।