विराटनगर,साउन ११:  नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । सरकारमा सहभागी मन्त्रीहरुले आज राजीनामा दिएपछि प्रदेश सरकारबाट माओवादी बाहिरिएको हो ।प्रदेश सरकारमा माओवादी केन्द्रबाट तीन जना मन्त्री र एक राज्यमन्त्री रहेका थिए । असार १७ गते  केन्द्रमा सत्ता समीकरण परिवर्तन भएपनि माओवादी केन्द्र प्रदेश सरकारमा नै थियो ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई अफ्ठ्यारो भएको बताएपछि आज माओवादीका मन्त्रीहरुले राजीनामा बुझाएका हुन् । माओवादीबाट प्रदेशमा गणेश उप्रेती भौतिक पूर्वाधार, राजेन्द्र कार्की स्वास्थ्य, नारायण बुर्जामगर पर्यटन वन तथा वातावरण मन्त्री र बन्दना झागड वन पर्यटन तथा वातावरण राज्यमन्त्री बनेका थिए । 
माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकार छाड्नुअघि पत्रकार सम्मेलन गर्दै माओवादीले बनाएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चाहेसम्म सरकारमा बसेको बताएका छन् ।