काठमाडौं, फागुन ११ :

नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको मिनी अक्सनमा राष्ट्रिय टोलीबाट खेलिसकेका तीन अनुभवी खेलाडी गोलकिपर विकेश कुथूसँगै भरत खवास र नवयुग श्रेष्ठ बिक्री नहुँदा आठ खेलाडी भने महँगो मूल्यमा बिक्री भएका छन् ।

ललितपुरमा शनिबार भएको अक्सनमा कुल ६० खेलाडी समावेश गरिएको थियो । उक्त मिनी अक्सनमा युवा खेलाडी महँगो मूल्यमा बिक्री हुँदा अनुभवी खेलाडी विकेश, भरत र नवयुग भने बिक्री भएनन् । यी तीनै खेलाडी राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । भरत र विकेश अघिल्लो सिजन स्पोर्टिङ इलाम र नवयुग पोखरा थन्डर्सबाट खेलेका थिए ।

यस सिजन इलामसँगै वीरगन्ज युनाइटेड एफसीले एनएसएलबाट हात झिकिसकेका छन् । पहिलो सिजन खेलेपछि विराटनगर सिटी एफसी दोस्रो सिजनमा सहभागी भएको थिएनन् । दोस्रो सिजनमा आएको इलाम र वीरगन्जले पनि तेस्रो सिजन नखेल्ने भएको हो ।

त्यसैले पनि तेस्रो संस्करणलाई खासै चासोका साथ हेरिएको छैन । शनिबार भएको अक्सनमा पनि कमै रोमाञ्चकता देखिएको थियो । जहाँ अनुभवी खेलाडी पनि प्राथमिकतामा परेनन् । क्याटोगोरी ‘ए’ का आठ खेलाडी भने सर्वाधिक महँगो मूल्य (चार लाख रुपैयाँमा) बिक्री भएका हुन् । क्याटोगोरी ‘ए’ का खेलाडीका लागि न्यूनतम मुख्य दुई लाख मूल्य तय थियो । तर साबिक विजेता ललितपुर सिटी र एफसी चितवनले अन्तिमसम्म मणिमाथि बोली लगाए ।

त्यसपछि लक्की ‘ड्र’ मार्फत ललितपुरले मिडफिल्डर मणिकुमार लामालाई आफ्नो बनाएको हो । एपीएफबाट घरेलु फुटबल खेल्दै आएका उनी महँगो मूल्यमा बिक्री हुने पहिलो खेलाडी थिए । उनीबाहेक युवा खेलाडी अभिषेक लिम्बू, सुमित श्रेष्ठ, पासाङ लामा, आशिष गुरुङ, दिनेश हेम्जन, जेलेस्पीजंग कार्की र सन्तोष कार्की पनि सर्वाधिक चार लाखमा बिक्री भए । डिफेन्डर अभिषेक र मिडफिल्ड सुमितलाई चितवनले लक्की ड्रमार्फत आफ्नो टोलीमा भित्राएको हो । अभिषेकले यसअघि बुटवलबाट खेलेका थिए ।

लेफ्ट ब्याक पासाङलाई लुम्बिनीबाट र सेन्ट्रल ब्याक आशिषलाई झापा एफसी किनेको हो । मिडफिल्डर दिनेश र सेन्ट्रल फरवार्ड जेलेस्पी भने काठमाडौं रेजर्सले किन्यो । काठमाडौं पहिलो संस्करणको विजेता हो । ललितपुर सिटी एफसीले मणिसँगै सन्तोषलाई पनि महँगो रकम खर्चियो । यो अक्सनमा क्याटोगोरी ‘ए’ मा १५ र ‘बी’ मा ४५ जना खेलाडी समावेश गरिएको थियो ।

हेरौं थप तस्बिर :

 

 

 

 

 

 

 

 

 

 

न्युज एजेन्सी नेपाल