
म्याग्दीको धौलागिरि गाउँपालिका ४ मा ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत् आयोजना निर्माण सुरु भएको छ ।
हाइड्रो इम्पाएर प्रालि प्रवर्द्धक रहेको आयोजनाले सिम्कोश दोभानको बाँधदेखि घिम्लेटी जोड्ने चार किलोमिटर लामो सुरुङ निर्माणका लागि आइतबारगण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रेशमबहादुर जुग्जालीले शिलान्यास गरेका हुन् ।
आयोजना प्रमुख रमेश सुवेदीले आगामी २०८२ चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित बाँध, सुरुङ र विद्युत्गृह निर्माणको काम सुरु भएको बताए । पहुँचमार्गलगायत पूर्वाधार निर्माण सकेर आयोजनाको मुख्य संरचना निर्माण थालिएको छ ।
माथिल्लो म्याग्दीले अपर म्याग्दी- १ र म्याग्दीखोला जलविद्युत् आयोजनासँग सहकार्य गरेर मालिका गाउँपालिका- ७ बिमको भारवाङदेखि कल्लेनी, छहरी, खारा, खाम्ला, नाउरा हुँदै बगर गाउँ नजिकैसम्म करिब २१ किलोमिटर पहुँचमार्ग निर्माण गरेको छ ।
म्याग्दी नदीमाथि ५० र ३० मेट्रिक्टन क्षमताको दुई वटा बेलिब्रिज जडान गरेर आयोजना निर्माणस्थललाई पहुँचमार्गले जोडेको आयोजनाका प्रबन्ध निर्देशक जितबहादुर घर्तीले बताए ।
सिन्कोस र म्याग्दी खोलाको दोभानभन्दा एक सय ३० मिटर तल म्याग्दी खोलाको दायाँ किनारमा बाँध र बाँया किनारमा भूमिगत बालुवा थिग्राउने पोखरी निर्माण थालिएको छ ।
चार किलोमिटर लामो सुरुङबाट ल्याइने पानी तीन सय दशमलव ८८ मिटर अग्लो हेडबाट विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिने छ । आउटलेटदेखि विद्युत्गृहसम्म सात सय ९७ दशमलव ९६ मिटर लामो पेनस्टक पाइप जडान गरिनेछ ।
कूल छ अर्ब ६९ करोड ९४ लाख ९५ हजार लागत अनुमान गरिएको आयोजनामा प्रवर्द्धक र आमनागरिकको सेयरबाहेक सिद्धार्थ बैंक, नेपाल एसबिआई, सिटिजन्स, एभरेष्ट र नबिल बैंकको पाँच अर्ब ३४ करोड ८८ लाख ९८ हजार लगानी रहनेछ ।