काठमाडौं, फागुन १३ :

पाथीभरा क्षेत्रमा ‘नो केबलकार’को माग राखी आन्दोलन गर्दै आएका आन्दोलनरत समूहलाई सरकारले फेरि वार्तामा बोलाएको छ । सरकारी वार्ता टोलीले केबलकार निर्माण कार्य स्थगित गर्ने सर्तसहित फेरि वार्ताका लागि बोलाएको हो ।

वार्ता टोलीका संयोजकसमेत रहेका गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायको समस्यालाई वार्ताकै माध्यमबाटै समाधान खोज्न पुनः प्रयास जारी राखेको बताए ।

केबलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने एवं वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधा गर्न आन्दोलनरत पक्षलाई वार्ता र संवादको लागि आउन भट्टराईले अपिल गरेका छन् ।

‘नो केबलकार समूह’ ले गृहसचिवस्तरको वार्ता टोलीले आफूहरूको माग सम्बोधन गर्न नसक्ने बताउँदै आएका छन् । सरकारले मन्त्रीस्तरीय वार्ता समिति गठन गर्नुपर्ने उनीहरूको माग छ ।

पाथीभरा क्षेत्रमा केही दिन यता समर्थन र विरोधमा प्रदर्शन हुँदै आएका छन् । विरोधी पक्ष र प्रहरीबीचको झडपमा थुप्रै घाइते भइसकेका छन् । कुनै पनि हालतमा पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्न नहुने र वार्ताको लागि निर्माण कार्य रोक्नु पर्ने उनीहरुले अडान राख्दै आएका छन् ।