काठमाडौं, फागुन १४ :

नेपाल बिमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले मंगलबार ललितपुरको कुपन्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा अध्यक्षको कार्यभार सम्हालेका छन् ।

यसअघि अर्थ मन्त्रालयमा मंगलबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवनियुक्त अध्यक्ष ओझालाई पद तथा गोपनीयताको शपथ गराएका थिए । नेपाल सरकार, मन्त्रिपरिषद्को हिजो बसेको बैठकले उनलाई नेपाल बिमा प्राधिकरणको अध्यक्ष नियुक्त गरेको हो ।

प्राधिकरणमा कार्यभार सम्हाल्दै नेपाल बिमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाले सरकारले विश्वास गरेर दिएको जिम्मेवारी पूरा गर्न आफ्नो सम्पूर्ण ध्यान केन्द्रित हुने बताए । अध्यक्ष ओझाले बिमा क्षेत्रमा देखिने गरेर परिवर्तन आएको महसुस हुने गरी सबैको सहकार्यमा कार्यान्वयनयोग्य कार्ययोजना बनाएर काम गर्ने जानकारी दिए ।

बिमा ऐन, नियम, निर्देशिका एवं मापदण्डबमोजिम अगाडि बढ्ने उल्लेख गर्दै अध्यक्ष ओझाले बिमा क्षेत्रको नियमनकारी निकायका रूपमा प्राधिकरणले अवलम्बन गर्दै आएको असल अभ्यासलाई निरन्तरता दिने र आवश्यक अन्तर्राष्ट्रिय असल अभ्यासलाई कार्यान्वयन गर्दै जाने बताए ।

अध्यक्ष ओझाले बिमा क्षेत्रलाई नियमित, प्रतिस्पर्धी र पारदर्शी बनाउँदै बिमितको हित संरक्षण, प्राधिकरणका विचाराधीन मुद्दाहरूको शीघ्र फर्स्योट र बिमकको वित्तीय स्वास्थ्यलाई बलियो बनाउन प्राथमिकताका साथ अगाडि बढ्ने प्रतिबद्धता जनाए । त्यस अवसरमा नेपाल बिमा प्राधिकरणका निवर्तमान अध्यक्ष एवं प्राधिकरण सञ्चालक समितिका सदस्य मदन दाहाल पनि उपस्थित थिए ।

यसअघि, नवनियुक्त अध्यक्ष ओझा नेपाल बिमा प्राधिकरणमा आउँदा उनलाई प्राधिकरणका निर्देशकहरूलगायत कर्मचारीहरूले खादा, माला र पुष्पगुच्छाले स्वागत गरेका थिए ।