
जिल्ला प्रहरी कार्यालय पर्साले आफ्नै साथीको हत्या अभियोगमा तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका २७ का १९ वर्षीय मुकेशप्रसाद यादव, अरुणकुमार यादव र मुना तिवारी छन् । प्रहरीका अनुसार उनीहरूले आफ्नै साथी इशालप्रसाद कुर्मीलाई हत्या गरेका थिए ।
घटना विवरणअनुसार इशालप्रसाद कुर्मी र छिमेकी साथीहरू तास खेल्न गएका बेला पैसाको विषयमा विवाद भएको थियो । यसै विवादका क्रममा मुकेशप्रसाद, अरुणकुमार र मुनाले मिलेर इशालप्रसादलाई हत्या गरी भेडाहा खोलामा फालेका थिए । पक्राउ परेका तीनै जनाले प्रहरीसमक्ष आफूहरु हत्यामा संलग्न रहेको स्वीकारेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार फागुन ७ गते वीरगन्ज २७, उदयपुर घुर्मी बस्ने जोगिन्द्रप्रसाद कुर्मीको १९ वर्षीय छोरा इशालप्रसाद घरबाट काम गर्न जाने भन्दै निस्किएका थिए । अबेर रातिसम्म पनि घर नफर्किएपछि परिवारले फागुन ८ गते जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिएका थिए ।
निवेदन दर्ता भएपछि प्रहरीले खोजका क्रममा फागुन ११ गते भेडाहा खोलामा इशालप्रसादको शव तैरिरहेको अवस्थामा फेला पारेको थियो ।
प्रहरीका अनुसार फागुन ७ गते नै इशालप्रसाद र उनका साथीहरू तास खेल्न गएका बेला ३५ सय रुपैयाँको विषयमा विवाद भएको र यसैको कारणले उनको हत्या गरिएको थियो ।
पक्राउ परेका तीन जनालाई ज्यानसम्बन्धी कसुरमा ६ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।