काठमाडौं, फागुन १८ :

काठमाडौं उपत्यकाभित्रको विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन ६ वटा सबस्टेसन निर्माणाधीन छन् । नेपाल विद्युत् प्राधिकरणले उपत्यकाभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा १३२/११ केभीका ६ वटा सबस्टेसन निर्माण गरिरहेको छ ।

यसमध्ये काठमाडौंको टेकु सबस्टेसन सञ्चालनमा आइसकेको छ । फुटुङ र मूलपानी सबस्टेसन अन्तिम चरणमा छन् । दुवै सबस्टेसनलाई दुई महिनाभित्र सञ्चालनमा ल्याउने गरी अन्तिम चरणका कामहरु भइरहेका छन् । भक्तपुरको चाँगुनारायण सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ । सबस्टेसनलाई सञ्चालन (चार्ज) मा ल्याउन मात्र बाँकी छ । चोभार सबस्टेसन आगामी असारभित्र र भक्तपुरको ठिमी सबस्टेसन ८ महिनाभित्र सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेका छन् ।

प्रत्येक सबस्टेसनको क्षमता ९०/९० एमभीए छ । सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि काठमाडौं उपत्यकामा थप करिब ५ सय मेगावाट विद्युत् प्रवाह गर्न सक्ने पूर्वाधार तयार हुनेछ । हाल काठमाडौं उपत्यकाको विद्युत माग ५ सय मेगावाटको हाराहारीमा छ ।

भविष्यमा वृद्धि हुन सक्ने विद्युत्‌को सम्भावित माग सम्बोधन गर्न प्राधिकरणले सन् २०५०को समयसीमा निर्धारण गरी काठमाडौं उपत्यकाका प्रमुख क्षेत्रमा चरणबद्ध रुपमा प्रसारण तथा वितरण पूर्वाधार निर्माणको प्रक्रिया अगाडि बढाएको छ । सन् २०५० सम्ममा काठमाडौं उपत्यकाको विद्युत्‌को उच्चतम् माग ३१ सय मेगावाट पुग्ने प्रक्षेपण गरी प्राधिकरणले २२०, १३२, ३३ र ११ केभी तहका २० वटा नयाँ सबस्टेसन निर्माण प्रक्रिया अगाडि बढाएको हो ।

सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहण भइसकेको छ । २२० केभी प्रसारण संरचनाले काठमाडौं उपत्यकाको बाहिरी परिधिलाई घेर्ने गरी २२० केभीको रिङ निर्माण गर्न सर्वेक्षणलगायतका पूर्वतयारीका काम सम्पन्न भइसकेका छन् ।

तामाकोसी र सुनकोसी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा आपूर्तिका लागि ४००/२२०, २२०/१३२ र १३२/११ केभी तहको लप्सीफेदी सबस्टेसन निर्माणाधीन छ ।

उपत्यकाको विद्युत् आपूर्ति भरपर्दो गुणस्तरीय र आधुनिक बनाउन नयाँ सबस्टेसन निर्माण, सञ्चालनमा रहेका सबस्टेसनलाई स्वचालित बनाउने, विद्युतीय तारलाई भूमिगत बनाउने, नयाँ फिडर तथा ट्रान्सफर्मर थप्ने तथा सुदृढीकरण गर्नेलगायत आयोजनाहरु सञ्चालित छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणाधीन सबस्टेसनको अनुगमन गरी काठमाडौं उपत्यकाभित्रको विद्युत् बढ्दो माग धान्न र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन निर्माणलाई जतिसक्म्दो छिट्टो सम्पन्न गर्न आग्रह गरे । निर्माणाधीन सबै सबस्टेसन सञ्चालनमा आएपछि काठमाडौंको विद्युत् माग र आपूर्ति व्यवस्थापनमा धेरै सहज भई विद्युत् आपूर्ति थप भरपर्दो एवम् गुणस्तरीय हुने उनले उल्लेख गरे ।

काठमाडौंको दक्षिण पूर्वी क्षेत्रको विद्युत् आपूर्ति सुधारका लागि कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानीमा १३२/११ केभी सबस्टेसन निर्माण अन्तिम चरणमा छ । चपली-भक्तपुर १३२ केभी प्रसारण लाइनलाई मुलपानी सबस्टेसनमा छिराएर विद्युत् आपूर्ति दिइनेछ । उक्त सबस्टेसनबाट जडीबुटी, पेप्सीकोला, काँडाघाँरी, गोठाटार, मूलपानी, जोरपाटी, साँघु, ठिमीलगायत क्षेत्रमा विद्युत् आपूर्तिका लागि ११ केभीका ८ वटा फिडर निकालिएको छ । सबस्टेसन चैतभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।

फुटुङमा १३२/११ केभीको नयाँ सबस्टेसन निर्माण अन्तिम चरणमा छ । बालाजु-चपली १३२ केभी डबल सर्किट प्रसारण लाइनलाई फुटुङ सबस्टेसनमा ‘ट्यापिङ’ गरी त्यस क्षेत्रमा विद्युत् आपूर्ति गरिनेछ । दुई महिनाभित्र उक्त सबस्टेसन सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । उक्त सबस्टेसन सञ्चालन आएपछि बालाजु, नेपालटार, गोलढुंगालगायत क्षेत्रको विद्युत् आपूर्ति थप सुधार हुनेछ ।

विद्युत् प्राधिकरणको नाफा ६ महिनामा ११ अर्ब ३६ करोड

उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्त्वपूर्ण मानिएको थानकोट-चापागाउँ-भक्तपुर १३२ केभी प्रसारण लाइनअन्तर्गत ललितपुरको खोकना, बुङमती, हरिसिद्धि र लामाटार क्षेत्रमा निर्माणमा अवरोध भएपछि काठमाडौंको चोभारमा १३२/११ केभी सबस्टेसन निर्माण गरिएको छ । उक्त सबस्टेसनमा मातातीर्थ सबस्टेसनबाट विद्युत् आपूर्ति दिइनेछ । उक्त सबस्टेसन आगामी असारभित्र सञ्चालनमा ल्याउने लक्ष्यसाथ काम भइरहेको छ ।

चोभारमा सबस्टेसनबाट चक्रपथ हुँदै १३२ केभी भूमिगत लाइन बनाउँदै ललितपुरको लगनखेल सबस्टेसनमा पुर्याइनेछ । लगनखेल सबस्टेसनलाई सुदृढीकरण गरी १३२ केभी बनाइँदै छ । त्यसपछि आगामी दिनमा त्यहाँबाट भूमिगत रुपमा चापागाउँ र हरिसिद्धिमा लाइन लगिनेछ ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी, एसियाली विकास बैंक (एडीबी), जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा प्रसारण तथा वितरण प्रणाली सुधार अगाडि बढाइएको हो ।