पर्वत, फागुन २० :

जलजला गाउँपालिका- ३ मल्लाज माझफाँटको भुरतुलामा १० शय्याको अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको छ । 

‘एक पालिका, एक अस्पताल’ कार्यक्रमअन्तर्गत जलजला गाउँपालिकाले मल्लाज स्वास्थ्य चौकी परिसरमा तीन वटा पक्की भवन निर्माण गरेको हो । भवनको ९५ प्रतिशत निर्माण कार्य पूरा भएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए । 

भवनको लागत मूल्य नौ करोड ७३ लाख ६४ हजार ८१३ छ । पालिकालाई भवन हस्तान्तरण भएपछि सङ्घीय सरकारको सहयोगमा  उपकरण र जनशक्ति व्यवस्थापन गरी अस्पताल सञ्चालन गर्ने योजना रहेको उपाध्यक्ष आचार्यले सुनाए । 

अस्पताल सञ्चालन भएपछि जलजला गाउँपालिकाको १, २, ३, ४, ५ र ६ नम्बर वडामा पर्ने बाँसखर्क, माझफाँट र लेकफाँट, शालिजाका बासिन्दाका साथै आसपासका क्षेत्रका सर्वसाधारण लाभान्वित हुनेछन् ।