
प्रधानमन्त्री केपी ओलीले आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प नरहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रयासविना समृद्धि हासिल नहुनेमा सरकार स्पष्ट रहेकाले औद्योगिक विकास र रोजगारी सिर्जनामा प्राथमिकता दिइने जनाए । ‘अब हामी आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प छैन,’ उनले भने, ‘सहकार्यका माध्यमबाट युवाहरूले आँपको खेती विकास गर्न सक्छन् । यसमा प्रदेश सरकारहरु पनि अघि सरुन् ।’
प्रधानमन्त्री ओलीले वर्तमान सरकार केवल सरकारका लागि नभएर देश बनाउन आएको दाबी गरे । उनले हुलाकी राजमार्ग, सुनकोसी मरिनलगायत योजना छिटो सम्पन्न गर्ने प्रतिबद्धतासमेत जनाए । ‘अब अराजकता, बलमिच्याइँ र जालझेल चल्दैन,’ उनले भने । ओलीले मुलुकमा अब राजतन्त्र नफर्कने उल्लेख गर्दै सबै संविधानअनुसार चल्नुपर्नेमा जोड दिए ।
नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिजको उद्घाटन गर्दै बिहीबार उनले आफ्नै कागज देशभित्र प्रयोग गर्ने अवसर र व्यापार घाटा सन्तुलनका लागि यसले योगदान दिई आत्मनिर्भर बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।
महोत्तरीको गौशाला नगरपालिका १, रामनगरमा आयोजित कार्यक्रमबीच प्रधानमन्त्री ओलीले उद्योगको उद्घाटन गरेका हुन् । उनले उद्योग स्थापनाले चुलोचौकोमा सीमित रहनेका लागि पनि सीपका साथै रोजगारी सिर्जना गर्ने दाबी गरे ।
आईएमई ग्रुपको यो उद्योग स्थापना भएसँगै नेपालमा पहिलोपटक नष्ट भएका कागजबाट नयाँ कागज उत्पादन भई आयात कम गर्न सहयोग पुग्नेछ । यस उद्योगले करिब तीन सयको रोजगारी दिनेछ । नेपालमा वार्षिक करिब डेड लाख टन कागज खपत हुने गरेको छ ।