
नेपालको पहिलो तथा अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ई-सेवा र हिमालयन बैंक बीच विद्युतीय कारोबार सम्भव बनाउन साझेदारी भएको छ ।
साझेदारीपश्चात अब ई-सेवा प्रयोगकर्ता तथा हिमालयन बैंकका ग्राहकले सहजै विद्युतीय माध्यमबाट रकम ट्रान्सफर गर्न सक्नेछन् । दुवै संस्थाका ग्राहकलाई थप सेवा र पहुँच प्रदान गर्ने उद्देश्यले गत साता एउटा औपचारिक कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिहरुले सम्झौतापत्रमा हस्ताक्षर गरी यस सेवाको प्रारम्भ गरेका हुन् ।
यस साझेदारीपश्चात अब हिमालयन बैंकको ग्राहकले आफ्नो मोबाइल बैंकिङ एप (एचआई-एमबी) प्रयोग गरी सिधै ई-सेवा वालेटमा रकम लोड गर्न सक्नेछन् । ई-सेवा प्रयोगकर्ताहरूले आफ्नो ई-सेवा वालेटमा भएको रकम हिमालयन बैंकको खातामा ट्रान्सफर गर्न सक्नेछन् ।
ई-सेवामा हालसम्म ४९ साझेदार बैंक तथा वित्तीय संस्था आबद्ध छन् । यसमा हिमालयन बैंक पनि जोडिएपश्चात् नेपालको डिजिटल वित्तीय सेवामा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । ई-सेवा र हिमालयन बैंकबीच भएको यस सम्झौताप्रति खुसी व्यक्त गर्दै, ई-सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले यो सम्झौताले दुवै पक्षका ग्राहकलाई विनाझन्झट आफ्नो बैंक खाता र ई-सेवा वालेटबीच रकम ट्रान्सफर कार्य गर्न सहज बनाउने उल्लेख गरेका छन् ।
यस सम्झौताले ग्राहकहरूको अमूल्य समय बचाउनुको साथै डिजिटल कारोबारलाई थप सुरक्षित र प्रभावकारी बनाउने कुरामा समेत उनले जोड दिएका छन् । खड्काले भविष्यमा ग्राहकहरूको हित तथा सहजताका लागि आवश्यकता अनुसार थप सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
सन् २००९ देखि ई-सेवा लिमिटेड स्थापना भएको हो । हाल नेपालको ७७ वटै जिल्लामा पहुँच भएको ई-सेवा लि., सहरी केन्द्रमा मात्र सीमित नभएर हाल यस कम्पनीको उपत्यका बाहिर पनि ८ वटा शाखा कार्यालय र ३ वटा सम्पर्क कार्यालय छन् ।
मोबाइल टपअपबाट सेवा सुरु गरेको ई-सेवाले हाल इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, होटल बुकिङ, सेयर तथा डिम्याट खाता नवीकरण, ब्लुबुक नवीकरण, इन्स्योरेन्सलगायत दुई हजारभन्दा बढी सेवाको शुल्क भुक्तानी, इजी लोन, इस्पिकर , मर्चेन्ट लिंक सुविधा दिँदै आएको छ ।