
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नवनियुक्त कर्मचारीहरुलाई पूर्वसेवाकालीन तालिम प्रदान गरेको छ ।
बैंकका अनुसार लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तर्वार्ताबाट गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका लागि प्रदेशगत रुपमा छनोट भएका नवनियुक्त सहायक (प्रशासन सेवाका) ९४ कर्मचारीलाई १४ दिने पूर्वसेवाकालीन तालिम काठमाडौंमा सञ्चालन गरिएको हो ।
तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले तालिमले बैंकिङ काम प्रतिको ज्ञान बढाउनुका साथसाथै काम गर्ने दौरानमा कामप्रति स्मार्टनेस, सकारात्मकता र सेवाभाव झल्कने बताए । उनले नवनियुक्त युवा कर्मचारीलाई प्रतिस्पर्धी बजारमा खरो रुपमा उत्रनुका साथै जनताको असल सेवक हुनुपर्ने बताए ।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु सरस्वती अधिकारी र देवेशप्रसाद लोहनीले नवनियुक्त कर्मचारीहरुलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्यबोध गराए । कार्यक्रममा मानव संसाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त सहायक ९४ कर्मचारीलाई बैंकको कर्मचारी सेवा विनियमावलीबमोजिम शपथ गराए । कार्यक्रम मानव संसाधन विभागका विभागीय उपप्रमुख हरिबाबु आचार्यले सञ्चालन गरेका थिए ।
कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु पवन रेग्मी, विमल डंगोल, दुर्गाकुमारी कँडेल, विभागीय प्रमुख पद्यालक्ष्मी जीसीलगायत कर्मचारीको उपस्थिति थियो । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकामसहित २९४ शाखा कार्यालय, ७२ वटा एक्सटेन्सन काउन्टर, ३१२ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ सेवा छ ।