
काठमाडौँ, साउन १०: ३३औँ गृष्मकालीन ओलम्पिक शुक्रबारदेखि फ्रान्सको राजधानी पेरिसमा सुरु हुँदैछ । पेरिस ओलम्पिकमा समावेश केही खेलहरू सुरु भएपनि प्रतियोगिताको औपचारिक उद्घाटन सेन नदीमा भव्य समारोहबिच गरिन लागिएको छ ।
पेरिसमा ओलम्पिकमा नेपालबाट ६ खेलका सात खेलाडीको सहभागिता रहेको छ । जसमा एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीका एलेक्जान्डर शाह र डुवाना लामा तथा जुडोकी मनिता श्रेष्ठ प्रधानले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
टेबलटेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिताले छनोट चरण पार गरेर ओलम्पिक यात्रा तय गर्नुभएको हो । साउन २७ गतेसम्म चल्ने यस ओलम्पिकमा दुई सय ६ देशका खेलाडीले विभिन्न ३२ खेलमा प्रतिस्पर्धा गर्नेछन् । जसमा तीन सय २९ इभेन्ट्स हुनेछन् ।