काठमाडाैं, चैत २ :

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। शनिबार मध्यरातदेखि लागू हुने नयाँ समायोजन अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य घटाइएको छ।

नयाँ मूल्यअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँमा तथा डिजेल र मट्टीतेल १५१ रुपैयाँमा उपलब्ध हुनेछ। इन्डियन आयल कर्पोरेशनबाट १५ मार्चमा प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य घटेर आएको हुँदा निगम सञ्चालक समितिको निर्णयअनुसार समायोजन गरिएको निगमका प्रवक्ताले प्रेस विज्ञप्ति मार्फत जनाएका छन्। खाना पकाउने ग्यासको मूल्य भने यथावत् रहेको छ ।