
कम्बोडिया भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल र कम्बोडियाबीच धार्मिक पर्यटकीय सञ्जाल निर्माण, सिधा हवाई उडान, बृहत्तर बुद्ध सर्किटको निर्माणमा साझेदारीको सम्भावनाबारे छलफल गरेका छन् ।
कम्बोडियाका पर्यटनमन्त्री हुअट हाक र संस्कृति तथा धार्मिक मामिलामन्त्री चाई बोरिनसँग मंगलबार भएको भेटका क्रममा मन्त्री पाण्डेले यसबारे छलफल गरेको उनको सचिवालयले जनाएको छ ।
कम्बोडियाका पर्यटन र संस्कृति तथा धार्मिक मन्त्रालयमा भएको भेटमा उनले आफू कम्बोडियमा उत्रनेबित्तिकै नेपालमा जस्तै सडकका कुनाकुनामा गणेश भगवान्का मूर्तिहरु दर्शन गर्न पाएको उल्लेख गर्दै दुई देशबीच साझा तीर्थस्थल वा धार्मिक सञ्जाल निर्माणका लागि भविष्यमा सहकार्य गर्न सकिने विषयमा छलफल गरेका थिए ।
भेटमा भगवान् बुद्धको नेपालमा जन्म भए पनि कम्बोडियामा द्रुत रुपमा बुद्धधर्म विस्तार भएको आफूले पाएको उल्लेख गर्दै नेपाल र कम्बोडियाबीच सिधा हवाई उडान गर्न सके बुद्ध जन्मस्थलमा कम्बोडियाली धार्मिक पयर्टकले सहज भ्रमण गर्न सक्ने बताए । भेटका क्रममा मन्त्री पाण्डेले नेपाल र कम्बोडियाको ऐतिहासिक सन्दर्भ र द्विपक्षीय पर्यटन सहयोगको महत्त्वलाई उल्लेख गरे । उनले भने, ‘कम्बोडिया र नेपालका इतिहास र धर्म एक-अर्कासँग गहिरो सम्बन्ध राख्दछन् ।’
उनले नेपाल र कम्बोडिया युद्ध र संघर्षको अवस्थाबाट गुज्रिएको स्मरण गर्दै कम्बोडियाले द्वन्द्वत्तोर विकासमा गरेको प्रगतिबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताएका थिए । नेपालका प्रमुख धार्मिक स्थलहरूजस्तै लुम्बिनी, मुक्तिनाथ र जानकी मन्दिर तथा कम्बोडियाको अङ्कुरबाट दुई देशका साझा सम्पदा र तीर्थस्थलका रूपमा रहेको उल्लेखसमेत गरे । ‘हाम्रो धार्मिक र सांस्कृतिक परिप्रेक्ष्यले समानता देखाउँछ । र हामीसँग एक समान धार्मिक सहिष्णुता र सद्भाव छ,’ उनले भने ।
दुवै पक्षले धार्मिक र सांस्कृतिक पर्यटन साझेदारी वृद्धि गर्ने विषयमा छलफल गरेका छन् । नेपाल र कम्बोडियाबीच सिधा हवाई उडानको सुरुवात हुन सकेको अवस्थामा पर्यटकको आवागमनमा ठुलो सुधार गर्न सकिने विषयमा दुवै पक्ष सहमत भएका छन् । यसका साथै, बृहत्तर बुद्ध सर्किटको निर्माणमा साझेदारीको सम्भावनाबारे पनि छलफल भएको बताइएको छ ।
मन्त्री पाण्डेले कम्बोडियाको एसिया क्षेत्रको सबैभन्दा ठुलो विमानस्थल निर्माणको बारेमा चर्चा गरे । उनले भने, ‘यस परियोजनाले नेपाल र कम्बोडियाबीचको भौतिक दूरीलाई छोटो बनाउनेछ ।’ उनले नेपलमा पनि भैरहवा र पोखरामा निर्माण भएका अन्तर्राष्ट्रिय विमानस्थलहरुमा उडान भर्ने वायुसेवा कम्पनीहरुलाई विशेष सहुलियतसहितको व्यवस्थापछि ती सञ्चालनमा आएको प्रसंग उल्लेख गरे ।
कम्बोडियाली पक्षले नेपाललाई धन्यवाद दिँदै लुम्बिनीमा कम्बोडियाको स्तूप निर्माणका लागि स्थान उपलब्ध गराएकामा आभार व्यक्त गरेको छ । साथै, नेपाल र कम्बोडियाबीच द्विपक्षीय सहयोगका क्षेत्र र कार्यसम्पादन मोडालिटिको पहिचानका लागि राजदूत र कर्मचारीस्तरीय टोली गठनको आवश्यकतामा जोड दिएका छन् ।
कम्बोडियाले २०२४ मा ७२ लाख अन्तर्राष्ट्रिय पर्यटकको आगमनको अपेक्षा गरेको जानकारी दिएको छ । पर्यटन क्षेत्रको पुनर्निर्माण र समृद्धिका लागि यूएन टुरिजमको बृहत्तर छाताअन्तर्गत सहकार्यका लागि कम्बोडिया इच्छुक रहेको जनाइएको छ । कम्बोडियाले धार्मिक र सांस्कृतिक सहयोगका लागि नेपालसँग अझ नजिकको सहकार्यमा प्रवेश गर्ने प्रतिबद्धता पनि जनाएको छ ।