चीन, चैत ७ :

पोखरा र चीनको सिचुवान प्रान्तको छन्दु सहरका पर्यटन व्यवसायीबीच व्यावसायिक साझेदारी बिटुबी (बिजनेस टु बिजनेस) एवं ‘सेल्स मिसन’ सम्पन्न भएको छ । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो व्यावसायिक चार्टर्ड उडानमार्फत छन्दु पुगेका पर्यटन व्यवसायी र छन्दुका पर्यटन व्यवसायीबीच बिटुबी एवं सेल्स मिसन कार्यक्रमको आयोजना नेपाल पर्यटन बोर्डले गरेको हो ।

पोखरा पर्यटन परिषद् र छन्दुस्थित महावाणिज्यदूतावाससँगको सहकार्यमा गरिएको कार्यक्रममा दुवै देशका पर्यटन व्यवसायीले सिचुवान एयरलायन्सको उडान नियमित हुनुपर्नेमा जोड दिँदै पर्यटकीय साझेदारीका लागि तयार भएको बताए । 

छन्दुका पर्यटन व्यवसायीले पोखराको प्राकृतिक सुन्दरताको प्रशंसा व्यक्त गर्दै चिनियाँ पर्यटक लक्षित पूर्वाधार आदिमा जोड दिन आग्रह गरेका थिए ।
   
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपालको पर्यटन राजधानी पोखराबाट मित्रराष्ट्र चीनको छन्दुसम्म पहिलो व्यावसायिक चार्टर्ड उडान सुरु भएकोमा आफूहरू उत्साहित बनेको बताए ।
   
नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध हिमाल जत्तिकै उच्च, सागर जत्तिकै गहिरो र आकाश जत्तिकै फराकिलो रहेको बताउँदै उनले यो सम्बन्ध भृकुटी र स्रङचङ्ग गम्पो र अरनिकोजस्ता ऐतिहासिक व्यक्तित्वहरूको समयदेखि नै विस्तार भएको सुनाए । 

नेपाल र चीनबीचको मैत्री सम्बन्ध कायम भएको ७०औँ वर्षगाँठ मनाइरहँदा नेपाल भ्रमण वर्ष २०२५ घोषणा गरेकोमा धन्यवाद व्यक्त गर्दै महानगरप्रमुख आचार्यले पोखरा महानगरपालिकाले यस वर्षलाई पोखरा भ्रमण वर्ष मनाइरहँदा अझ धेरै विशेष बन्न पुगेको उल्लेख गरे। 
   
सिचुवान प्रदेश विश्वप्रसिद्ध चिया, जाइन्ट पाण्डा र बुद्धको ऐतिहासिक धरोहरहरूले विश्वभरका पर्यटकमाझ आकर्षणको केन्द्र बनेको बताउँदै उनले नेपाली पर्यटक पनि चीनको समद्ध संस्कृति र प्राकृतिक सुन्दरता अनुभव गर्न लालयित भएको बताए ।

उक्त चार्टर्ड उडानले नेपाली पर्यटक सिचुवान आउन र त्यहाँका आकर्षणहरू अनुभव गर्न सहज र सजिलो बनाउने उनले विश्वास व्यक्त गरे । यसबाट छन्दुका पर्यटकहरू सोझै पोखरा जाने र नेपालका पर्यटक पनि छन्दुको समृद्ध संस्कृति र प्राकृतिक सुन्दरता अनुुभव गर्न आउने उनको भनाइ छ । 

सिचुवान प्रान्तका परराष्ट्र विभागका उपमहानिर्देशक लिउ मिनले सिचुवान एयरलायन्सले सुरु गरेको व्यावसायिक चार्टर्ड उडान नियमित हुनेमा विश्वास व्यक्त गरे ।

दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाउनका लागि लागि उडानको निरन्तरतासँगै दुई देशका पर्यटन व्यवसायीबीचको साझेदारी महत्वपूर्ण बन्ने उनको भनाइ थियो ।
   
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरा छन्दु उडानले दुवै देशबीचको पर्यटकीय साझोदारीलाई बढाउने बताए । यो उडानलाई नियमित गराउने कुरामा आफूहरू निरन्तर लाग्ने बताउँदै यसमा छन्दुका पर्यटन व्यवसायीको पनि सकारात्मक साथ र सहयोग हुने विश्वास व्यक्त गरे। 

छन्दुुमा गरिएको बिटुबी एवं सेल्स मिसनबाट दुुवै देशका पर्यटन व्यवसायीबीच आपसी मित्रतालाई अझै मजबुत बनाउने विश्वास दिइएको उनको भनाइ छ ।